काठमाडौं,१८ कात्तिक, । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा बिहीबार राति चितुवासँग मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन् ।बिहीबार राति ९ बजेतिर विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै २३ वर्षिय निशान्त चौधरीले चलाएको मोटरसाइकल चितुवासँग ठोक्किएको हो ।
दुर्घटनामा परेर घाइते भएका चौधरीको किर्तिपुर अस्पतालमा उपचार भइरहेको डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।कीर्तिपुर क्षेत्रमा यस अगाडि पनि बारम्बार चितुवा देखा पर्दै आएको थियो । तर, पछिल्लो समय विश्वविद्यालय परिसरमा बच्चा सहितको चितुवा देखिने गरेको विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हिजो आज सानो बच्चा सहितको चितुवा देखिन थालेको छ ।’
बच्चा सहितको यो चितुवाले कुकुरको शिकार गरेको समेत देखिएको पनि श्रेष्ठले सुनाए । उनले भने, ‘यो चितुवा यतातिर कुकुर मारिरहेको पनि देखिन्छ ।’विश्वविद्यालय परिसरमा चितुवा देखिन थालेपछि साँझपख विश्वविद्यालय परिसरमा हिँडडुल गर्न डर लाग्न थालेको श्रेष्ठले सुनाए ।
जंगलमा आहाराको कमि भएपछि चितुवा मानव बस्तीतिर आहाराको खोजिमा आउने गरेको जानकार बताउँछन् ।काठमाडौं आसपासका जंगलहरु चितुवाको बासस्थान भएको बताउँछन वन्यजन्तु विषयका जानकार युवराज भट्टराई । भन्छन्, ‘काठमाडौं आसपासका जंगल चितुवाको बासस्थान हो । बुढो, घाइते र बच्चा पाएका चितुवाहरु सजिलै मार्न सकिने शिकारको खोजीमा शहर छिर्छन ।’
यस्तै जंगलमा चिसो बढेकाले न्यानो खोज्दै चितुवा पारिलो ठाउँ खोज्ने क्रममा पनि झुक्किएर शहर छिर्ने गरेको वन्यजन्तु विज्ञहरु बताउँछन् ।वन तथा भु–संरक्षण विभागकी वन्यजन्तु संरक्षण शाखाकी वन अधिकृत सबनम पाठकले भाले चितुवाबाट जोगाउनका लागि माउ चितुवा बच्चासहित शहर नजिकका जंगल छिर्ने गरेको बताइन ।
भन्छिन्, ‘भाले चितुवाबाट बच्चा जोगाउन माउ चितुवा शहर नजिकका जंगल छिर्छन् ।’ बच्चा साथमा भएको माउ चितुवा अन्य चितुवाभन्दा बढी आक्रामक हुने पनि उनले सुनाइन् ।
विश्वविद्यालय परिसरमा देखिएको चितुवालाई जंगल पठाउन विभागले काम सुरु गर्ने पनि उनले सुनाइन । उनले भनिन्, ‘बच्चा सहितको चितुवा अलि धेरै आक्रामक हुन्छ । यससँग जोगिनुपर्छ ।’