धनगढी, १८ कात्तिक। डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटाचुनावी सभालाई सम्बोधन गर्दैछन्।उनले आज नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र गृहपालिका गन्यापधुराको बडालमा चुनावीसभालाई सम्बोधन गर्दै छन्।
सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा छन्। उनले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार सम्बोधन गरिसेका थिए। देउवा कात्तिक २२ गतेसम्म जिल्लामा रहने कार्यक्रम तय भएको छ। उनी जिल्लाका सातवटा चुनावीसभामा सहभागी हुनेछन्।
प्रधानमन्त्री देउवाले गठबन्धनका साथै कांग्रेस नेता तथा कार्यकर्तासित भेटघाट गर्ने कार्यक्रम पनि छ। चुनावीसभालाई प्रधानमन्त्री देउवासँगै कांग्रेस केन्द्रीय सदस्य एवं उनका धर्मपत्नी डा आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा (१) का उम्मेदवार खगराज भट्ट, प्रदेशसभा (२) का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहरा, नेकपा एकीकृत समाजवादीकी नेतृ निरा जैरु, जनमोर्चाका नेता नन्दराज भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त वाम–लोकतान्त्रिक गठवन्धनले बताएको छ।
बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, कात्तिक १९ गते अजयमेरु गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिकाको रुपाल तथा कात्तिक २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावीसभालाई देउवाले सम्बोधन गर्नेछन्।
