सरस्वती साफरी/धनगढी, १३ कात्तिक–मंसिर ४ । पाँच वर्षका लागि आफ्नो गाउँ ठाउँको विकास गर्ने विकासप्रेमी नेता छान्ने दिन । अर्थात्, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने दिने । हो, त्यही निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँ ठाउँको नेता छान्ने दिनमा सहभागी हुन छाडेर सुदूरपश्चिमका युवायुवतीहरु मुग्लान छिर्दैछन् । दसैं र दिपावली मानेर सुदूरपश्चिमका युवायुवती रोजगारीका लागि धनगढीको त्रिनगर भन्सार नाका र महेन्द्रनगरको गड्डाचौकी नाका हुँदै परदेशिनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

निर्वाचनको दिन आए पनि नेताहरुले आफूहरुको भोको पेट नभरिदिने भन्दै धनगढीको त्रिनगर भन्सार नाका हुदै भारत जान लागेका मिनराज काफ्लेले भने,‘अहिलेसम्म कसै नेताले रोजगारीका लागि कल कारखाना खोलेनन्, हामीले यहाँ रोजगारी पाउँदैनौ, अनि भारत नगएर के गर्नु ?’ नेताहरुलाई भोट दिएर जिताए पनि आफूहरु भारत जान नरोकिने बताउँदै उनले भने,‘मंसिर ४ सम्म कुर्नुभन्दा अहिले नै भारत भगए एक महिनाको तलब घर पठाउन त सकिन्छ । भोट हाल्न महिना दिन कुर्दा जहान परिवार भोकै हुन्छन् ।’

तिहार मनाउन घर फर्केका नेपालीहरु चुनाबको माहोल तातिरहेका बेला रोजगारीका लागि भारत जान थालेका हुन् । ‘चुनावको भोटले पेट भरिदैन,’ काफ्लेले भने,‘भोको पेट भर्न भोट छाडेर भए पनि भारत छिर्नुपर्ने बाध्यतै छ ।’ उनले नेताहरुप्रति आक्रोश पोख्दै भने,‘किन चाहियो चुनाव ?, किन चाहियो नेता, हामीले जहान परिवार पाल्न परदेशीनु नै पर्ने हो ।’ सुदूरपत्रकर्मीसँगको कुराकानीमा टेकसिंह रावलले भने,‘चुनावका बेला मात्रै हो नेताहरुले ‘युवाहरूलाई यहीँ रोजगारी दिने भन्दै गाउँमा माइक लगाएर फुक्छन्, तर आम नेपालीले अरुको देशमा काम गर्न जानुपर्ने बाध्यता वर्षौदेखि टरेको छैन ।’ आफू रोजगारीका लागि पहिलो पटक निर्वाचनमा भोट हाल्न छाडेर भारत पस्न लागेको उनले दुःखेसो पोखे । ‘हो भोट हाल्न मन त थियो, तर के गर्नु,’ उनले भने,‘भोट भन्दो भोको पेट ठूलो रैछ ।’

दसैं मनाउन घर फर्किएकी गीता बिकले भनिन्,‘दसै दिपावल मनाइसकेर म पुनः भारत जाँदैछु ।’ आफूले १० वर्षदेखि भारतमै रोजगारी गर्दै आएको बताउँदै उनले भनिन्,‘स्वदेशमै सीप अनुसारको काम हुने भए भोट हाल्न छाडेर अहिले किन भारत फर्कनु पथ्र्यो ? मनमा पीडा हुँदाहुँदै भारत छिर्दैछु ।’ चुनाव हरेक पाँच वर्षमा आइरहने बताउँदै राधा धामीले भनिन्,‘यसपालि भोट हाल्न नपाए पनि अब अर्को पटक भोट हाल्ने आउनेछु ।’ भारतमा आफूले मजदुरी गर्ने गरेको बताउँदै उनी भन्छिन्,‘मजदुरी गर्ने वातावरण नेपालमै भए किन भारत छिर्थे, यहाँ त्यस्तो अवसर नै छैन र त चुनावको मुखैमा भोट हाल्न छाडेर मुग्लान छिर्नुपरेको छ ।’
