धनगढी, ५ कात्तिक । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धन दलको बैठकले निर्वाचन परिचालन तथा समन्वय समितिलाई पूर्णता दिएको छ । समितिका संयोजक एवम् कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारको अध्यक्षतामा शनिबार बसेको बैठकले समितिलाई पूर्णता दिएको हो ।
नेपाली कांग्रेस कैलालीको शुक्रबार बसेको बैठकले पार्टीका जिल्ला पदाधिकारीलाई क्षेत्र स्तरीय निर्वाचन परिचालन तथा समन्वय समितिको संयोजक तोकेको थियो । सोही अनुसार क्षेत्र नम्बर ५ मा सुनारको संयोजकत्वमा गठबन्धन दलको निर्वाचन परिचालन तथा समन्वय समिति गठन गरिएको हो ।
समितिको सह-सयोजकमा नेकपा माओवादी र सचिवमा एकीकृत समाजवादीका प्रतिनिधिलाई राखिएको छ ।कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडसहितको उपस्थितिमा बसेको बैठकले अहिलेसम्मको निर्वाचन परिचालनको समिक्षा लगायत विभिन्न निर्णय समेत गरेको छ । निर्वाचन क्षेत्र नम्बर ५ मा वडा तहको निर्वाचन परिचालन समितिले ७ गते भित्र वडा तहको समिक्षा गर्ने निर्णय भएको संयोजक सुनारले बताए । यस्तै बैठकले १२ गतेदेखि २० गतेसम्म वडास्तरका निर्वाचन परिचालन कार्य योजना बनाउने र ७ गतेसम्म निर्वाचन परिचालन समितिले पालिकास्तरसंग समिक्षा गर्ने कार्यक्रम तय भएको उनले बताए ।
संयुक्त बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, काँग्रेस कैलालीका सचिव केशबराज मिश्र, जिल्ला सदस्य प्रकाश जोशी, बिमला जैरु, कमलबहादुर पुनमगर, तपेन्द्र भुषाल, कल्याणी सिह, नेकपा (एकिकृत समाजबादी)का बिमल जोशी, नेकपा मओवादी केन्द्रका केपी चौधरी, आषिश बम, गोबिन्द बिसी, डम्मरराज भट्टराई र राष्ट्रिय जनमोर्चाका कैलाली अध्यक्ष जगतप्रशाद जोशी लगाएतको सहभागिता रहेको थियो ।