डडेल्धुरा, २७ असोज । रासनमा हुने घोटलाको सूचना सञ्चारमाध्यमसम्म पुर्याएको भन्दै जन्मकैदको मागसहित मुद्दा खेपिरहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ नम्बर गण दार्चुलामा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह शाहूले सफाइ पाएका छन् । हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको आरोप खेपिरहेका शाहूले सशस्त्र प्रहरीको विशेष अदालतबाट सफाइ पाएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख, डीआईजी दुर्गाप्रसाद भट्टराईले शाहूले बुधबार मात्रै विशेष अदालतबाट सफाइ पाएको पुष्टि गरे । “हवल्दार शाहूले सफाइ पाएका छन्,” डीआईजी भट्टराईले भने, “विभागीय कारबाही भने अझै पनि हुनसक्छ ।”
४४ नम्बर गणका तत्कालीन गणपति सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० त्रिभुवन बिष्टलाई मातहतका सुरक्षाकर्मीलाई बिदामा छोडेर रासनमा घोटाला गरेको आरोप लागेको थियो । रासन काण्डमा हवल्दार शाहूलाई झुठो आरोप लगाइएको भन्दै विरोध भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट गणपति बिष्टको जिम्मेवारी खोसिएको थियो ।
भएको के थियो ?
शाहुले सशस्त्र प्रहरीभित्र रासनका नाममा हुने बेथितिबारे पत्रकारलाई जानकारी दिएपछि २८ जेठमा धनगढीको एक मिडियामा ‘सीमा सुरक्षाका लागि दार्चुलामा खटाइएका १२२ जना सशस्त्र प्रहरी बिदामा १’ शिर्षकमा समाचार प्रकाशन भएको थियो ।
समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता नम्बर ४४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन बिष्टको व्यक्तिगत खातामा जाने आरोप लगाइएको थियो । यद्यपि, समाचारमा स्रोत भने खुलाएको थिएन । समाचार प्रकाशित भएको दुई दिनपछि ४४ नम्बर गणले खण्डन गर्दै भन्यो, ‘समाचारमा कपोकल्पित, निराधार कुरा लेखी बद्नियतपूर्ण, सीमा सुरक्षामा आँच आउने र सीमा सुरक्षामा खटिएको सुरक्षा फौजलाई कमजोर पार्ने काम भएको छ ।’
खण्डन प्रकाशन भए पनि बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको नाममा एसपीले रासन भत्ता खाएको आरोप लागेपछि उक्त सूचना मिडियासम्म पुर्याउनेको खोजी गर्न एसपी बिष्ट स्वयं खटिएका थिए । सो क्रममा सिपाइको मोबाइल चेक गर्नेए क्रममा वरिष्ठ हवल्दार शाहूले मोबाइलमा फेसबुक र म्यासेन्जर अनस्टल गरेको पाइयो । रासनमा हुने बेथितिबारे समाचार आएसँगै शाहूले फेसबुक र म्यासेन्जर अनस्टल गरेका थिए । तर, पत्रकार ठगुन्नासँग भएको कुराकानी भने शाहुले डिलिट गरेका थिएनन् । मिडियासम्म विवरण पुगाउनेको खोजी गर्दा शाहुमाथि शंका बढेपछि उनको मोबाइलमा म्यासेन्जर इन्स्टल गरियो र पत्रकार ठगुन्नासँग भएको कुराकानी फेला पर्यो ।
मिडियासम्म खबर पुगाएको भन्दै जेठको अन्तिममा शाहुलाई दार्चुलाबाट कैलालीको अत्तरियास्थित बाहिनीमा लगियो । केही दिनपछि हेडक्वाटर पठाइयो । शाहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरियो । शाहुमाथि हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको आरोप लगाइएको छ । तर, शाहुले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए । सुरक्षासँग सम्बन्धित सूचना तथा खबर राष्ट्रिय वा अन्तर्राष्ट्रिय अनाधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा, गराउन प्रयास गरेमा वा कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा जन्मकैदको सजाज हुने व्यवस्था छ । सोहीअनुसारको माग दाबीसहित सशस्त्र प्रहरीले मुद्दा दर्ता गरेको थियो । मुचुल्का र मुद्दा फाइलमा भने शाहूले मिडियासम्म पुर्याएको हाजिरी विवरण वास्तविक भएको उल्लेख थियो ।