काठमाडौं, २५ असोज । कञ्चनपुर–१ बाट नेकपा (माओवादी केन्द्र)की नेतृ बीना मगर ०७४ को संसदीय निर्वाचनमा विजयी भइन् । तत्कालीन समयमा उनी वाम गठबन्धनबाट उमेदवार बनेकी थिइन् ।
त्यसअघि, ०७० को निर्वाचनमा उनी पराजित भएकी थिइन् । माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बीना यसपटक फेरि सत्तारुढ गठबन्धनबाट सोही क्षेत्रमा उमेदवार बनेकी छन् ।कञ्चनपुरमा माओवादीबाट लगतार तेस्रोपटक टिकट पाउने बीना भाग्यमानी नेता हुन् । सो क्षेत्रमा बीनाभन्दा वरिष्ठ नेता नभएका भने होइनन् ।
०७४ मा वाम गठबन्धनको तर्फबाट माओवादीको उमेदवार बनेकी बीनाले १९ हजार ५८४ मतान्तरमा कांग्रेसका दिवानसिंह विष्टलाई हराएकी थिइन् । उनले ३९ हजार २१ मत प्राप्त गर्दा कांग्रेसका विष्टले १९ हजार ४३७ मत प्राप्त गरेका थिए ।
अहिले बीनाका प्रतिस्पर्धी नेकपा (एमाले)का नेता तथा प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङ छन् । सो क्षेत्रमा जनजाती र थारु समुदाय छन् । दुवै उमेदवार जनजाती समुदायकै भएकाले अन्य समुदायको मत दुवैका लागि निर्णायक हुनसक्छ । जनजाती समुदायको मत बाँडिने नेता–कार्यकर्ताहरुको अनुमान छ ।
कञ्चनपुर–१ मा दुई नगरपालिका र दुई गाउँपालिका छन् । ०७९ वैशाखमा सम्पन्न स्थानीय तहको परिणाम हेर्दा सो क्षेत्रमा झिनो मतले एमाले अगाडि देखिन्छ । स्थानीय तहको मतपरिणामअनुसार एमालेको मत १८ हजार ७७३ देखिन्छ । यसबाहेक एमालेको गठबन्धनमा रहेको दल राप्रपाको दुई हजार ६९२ देखिन्छ । एमाले गठबन्धनको कूल मत २१ हजार ४६५ देखिन्छ ।
यता, नेपाली कांग्रेसको मत १८ हजार ७३२ छ भने माओवादी केन्द्रका उमेदवारले १५ हजार २८९ मत प्राप्त गरेको देखिन्छ । नेकपा (एकीकृत समाजवादी)को मत ३ हजार ५२१ छ । समग्रमा सत्ता गठबन्धनको मत ३७ हजार ५४२ देखिन्छ ।
स्थानीय चुनावको मतभार हेर्दा बीनाको क्षेत्रमा सत्ता गठबन्धन निकै अगाडि देखिन्छ । सत्ता गठबन्धन र एमालेबीचको मतान्तर १६ हजार ७७ रहेको छ । स्थानीय तह निर्वाचनताका अहिले बीनाका मुख्य प्रतिस्पर्धी तामाङ एकीकृत समाजवादीमै रहेका थिए । उनी अहिले एमालेमै फर्किएर उमेदवार बनेका छन् । जसकारण एकीकृत समाजवादीको मत तलमाथि हुनसक्ने सम्भावना छ ।
पूर्वमाओवादी बन्नसक्छन् चुनौती
०७४ को निर्वाचनमा कञ्चनपुर–१ का माओवादी प्रभावशाली नेताहरु पार्टीमै थिए । तर, नेकपा विभाजनपछि युद्धकालकै चर्चित र जिल्लाको कमान्डसमेत सम्हालिसकेका नेताहरु एमालेमा लागे ।
जिल्ला अध्यक्षसमेत रहिसकेका वीरबहादुर थापा, जिल्ला उपाध्यक्ष रहेका मोहन गिरी, नेता रोशन खड्का, राधाकृष्ण जोशीलगायत दर्जनौँ माओवादी नेताहरु अहिले एमालेमा छन् । उनीहरुले अर्थपूर्ण प्रभाव राख्न सक्छन् वा सक्दैनन् यसले प्रतिस्पर्धा थप रोचक हुनसक्छ ।
अर्को भनेको कांग्रेसभित्रको असन्तुष्टि हो । सो क्षेत्रमा कांग्रेस नेता दिवानसिंह विष्टको दाबी थियो । विष्टले ७० सालमा बीनालाई नै पराजित गरेका थिए । तर, गठबन्धनको भागबण्डामा सो क्षेत्र माओवादीको भागमा पर्यो । जसको कांग्रेस नेता–कार्यकर्ताले विरोध गरिरहेका छन् ।
गठबन्धनभित्रको असन्तुष्टि व्यवस्थापन नभएमा परिणाम पूर्वानुमान गरेभन्दा फरक हुनसक्ने नेताहरु बताउँछन् । कांग्रेसले प्रदेशसभामा भने एक क्षेत्र पाएको छ । जसमा दिवानसिंह विष्ट उमेदवार छन् । उनी आफै संघमा बीनाको उमेदवारीप्रति सन्तुष्ट छैनन् ।