धनगढी, २४ असोज । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएका लक्ष्मण थारु विरुद्ध उजुरी दर्ता भएको छ ।आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मण विरुद्ध उजुरी दर्ता भएको हो ।
मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले टीकापुर घटनामा अभियूक्त ठहर भएका लक्ष्मणविरुद्ध उजुरी दर्ता भएको जानकारी दिए ।
उनीविरुद्ध कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ बस्ने रामबहादुर सिंहले उजुरी दर्ता गराएका हुन । उनीविरुद्ध परेको उजुरीबारे छानविन भईरहेको मुख्य निर्वाचन अधिकृत अर्यालले जानकारी दिए ।
पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा अन्य उम्मेदवार विरुद्ध कुनै उजुरी नपरेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।कैलालीमा आईतबार प्रतिनिधि तथा प्रदेश सभामा एक सय ४४ जनाको उम्मेदवारी परेको छ ।