डडेल्धुरा, २४ असोज । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको उमेदवारी रद्द गर्न उजुरी परेको छ । डडेलधुराबाट प्रतिनिधिसभामा उमेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी परेको हो ।
नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ ।नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै बीपी काँग्रेसका तर्फबाट उमेदवार रहेका कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।
डडेल्धुरा कांग्रेसका पूर्वसभापतिसमेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् ।डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाविरुद्ध उजुरी परेको पुष्टि गरे । उनले थपे, “उमेदवारको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी परेको छ । हामी कारबाही अगाडि बढाउछौं ।”
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहनु ठुलै समस्या नरहेको बताए ।“मतदाता नामावलीमा रहेको त्रुटि सच्याउनका लागि समय दिइएको थियो,” उनले भने, “सो समयमा सम्बन्धित व्यक्तिले त्रुटि रहेको जानकारी नपाएकाले त्यस्तो समस्या आएको हुनसक्छ ।”
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि डडेल्धुरामा शेरबहादुर देउवासहित ११ जना उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी प्रदेशसभा सदस्यतर्फ १४ जनाले उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।