काठमाडौं, २० असोज । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्।दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीले बताए।
आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो। दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो।
उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन्। आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए। उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।