काठमाडौं । फिफा विश्वकप २०२२ निर्धारित मिति भन्दा एक दिन अगाडि सुरु हुने भएको छ ।नोभेम्बर २० तारिख आइतबार आयोजक कतारले इक्वेडरसँग खेल्दै विश्वकपको सुरुआत हुने बताइएको छ ।
यसअघि समूह ‘ए’ को उद्घाटन २१ नोभेम्बरमा हुने भनिएको थियो । साथै आयोजक कतार र इक्वेडरबीचको खेल प्रतियोगिताको तेस्रो खेलको रूपमा हुने तालिका थियो ।प्रतियोगिताको उद्घाटन खेल सोमबार बिहान १०ः०० बजे नेदरल्याण्ड्स र सेनेगलबीच हुने तालिका थियो ।तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रशासनिक शाखाले कतारको खेल सार्ने प्रस्ताव पेस गरेको छ ।
दक्षिण अमेरिकी कन्फेडेरेसनको अनुरोधमा फिफाले कतार र प्रतिद्वन्द्वी इक्वेडरसँग छलफल गरेको थियो । जसले गर्दा परम्परागत रूपमा उद्घाटन खेलमा आयोजक राष्ट्र तथा साबिक विजेताको खेल राख्ने प्रचलनसँग मेल पनि खानेछ ।अन्तिम निर्णय फिफा काउन्सिल ब्यूरोले गर्नेछ । जसमा सबै महादेशका अध्यक्षहरू र फिफा अध्यक्ष जियानी इन्फान्टिनो हुनेछन् ।
यदि यो अपेक्षित रूपमा उक्त प्रस्ताव स्वीकृत भयो भने खेलाडी रिलिजको मिति परिवर्तन हुँदैन । तर, नेदरल्यान्ड्स र सेनेगलबीच सोमबार हुने खेलको समय भने परिवर्तन हुनेछ । सोमबार चार खेलको सट्टा केवल तीन खेल हुनेछन् । नोभेम्बर २१ मा दिउँसो १ बजे हुने भनिएको इरान र इङ्ल्यान्डबीचको खेल भने प्रभावित हुनेछैन ।