बैतडी, १९ साउन/जिल्ला अस्पताल बैतडीमा अक्सिजन उत्पादन भइरहेको छ। जिल्लामै अक्सिजन उत्पादन भएपछि डडेल्धुरा र धनगढीबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता हटेको हो।कारोनाका बिरामीहरूको उपचार गर्न भन्दै २ वर्ष पहिले नै अक्सिजन प्लान्ट निर्माणका लागि ठेक्का भएको थियो। गत चैतदेखि अक्सिजन जिल्लामै उत्पादन भइरहेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी डा हरिश पन्तले जानकारी दिए।
जिल्लामा रहेको अक्सिजन प्लान्टमा अहिले दैनिक ९ देखि १० वटा सिलिण्डरहरू भरिने गरेका छन्। ७५ देखि ९० सिलिण्डर भर्न सक्ने क्षमता भएको अक्सिजन प्लान्टमा विद्युत नहुँदा जिल्ला अस्पताललाई चाहिने जति जेनेरटरको प्रयोग गरि अक्सिजन उत्पादन गरिन लागिएको हो।विद्युत जडान भएपनि दैनिक क्षमता अनुसारकै अक्सिजन उत्पादन गर्न सकिने जिल्ला अस्पताल बैतडीका प्रमुख डा। दिपेश श्रेष्ठले जानकारी दिए। छुट्टै ट्रान्सफर्मर जडान गरिन लागिएको र एक हप्ताभित्रै बिद्युत प्रयोग गरी क्षमताअनुसारको अक्सिजन उत्पदान गरिने उनले बताए।
उक्त प्लान्ट जडानका लागि संघीय सरकारको १ करोड ५० लाख र प्रदेश सरकारको ८० लाख बजेट बिनियोजन गरेको थियो। बैतडीमै अक्सिजन उत्पादन भएपछि उपचारमा सहज हुने अपेक्षा गरिएको थियो। कोरोना संक्रमणको समयमा बैतडी अस्पतालमा पटक पटक अक्सिजनको अभाव रहँदै आएको थियो।अब उक्त समस्या पनि नआउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए। ५० शैय्याको अस्पताल निर्माणको काम पनि अन्तिम चरणमा रहेको र अक्सिजन प्लान्टले उक्त अस्पताल सञ्चालनका लागि पनि सहज हुने उनले बताए।
बैतडीमा पनि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट नाकामा कडाइ गरिएको छ। भारतबाट स्वदेश फर्किरहेका सबै नागरिकहरूको अनिवार्य एन्टिजेन परीक्षण भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। बैतडीमा २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।