असार २
ह्युस्टन, अमेरिका — आरिफ शेख र सोमपाल कामीले शतकीय साझेदारी गरे पनि नेपाल बुधबार विश्वकप लिग-२ क्रिकेटमा अमेरिकासँग पराजित भएको छ । अमेरिकाले मुसा क्रिकेट मैदानमा नेपाललाई ३९ रनले पराजित गर्यो आरिफ र सोमपालले छैटौं विकेटमा १ सय ६ रनको साझेदारी गरे पनि अन्तिम ५ विकेट ८ रनमा गुमाउदा नेपालले पराजय भोग्नु परेको हो । २ सय ४६ रनको लक्ष्य लिएर आएको नेपाल ४७.४ ओभरमा २ सय ६ रनमा अलआउट भयो ।
नेपाललाई अलआउट गर्न अमेरिकाका सौरभ नेत्रभाल्कर र अली खानले ३–३ विकेट लिए। नोसथुस केन्जिगले र निसर्ग पटेलले समान १ विकेट लिए। नेपालका दुई खेलाडी रनबउट भए। त्यसअघि मोसा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो।
अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा सुशान्त मोदानीले ५४ रन बनाए। यस्तै आरोन जोन्सले ४३ र साइतेजा मुम्मकामालाले ३६ रन जोडे। करण केसीले स्टेभेन टेलर ९१० र कप्तान मोनाक पटेल ९४० लाई सुरुमै आउट गरेपनि मोदानी र जोन्सले ८८ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्सलाई अघि बढाएका थिए।
नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।