धनगढी, ८ जेठ । २०२० साल जेठ १६ गते कैलालीको तत्कालीन मनिकापुर गाविसको झन्झटपुरमा जन्मेका गोपाल हमालका बुवा कृष्णप्रसाद र आमा झरेन्द्रदेवी हुन् । उनले धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरे । उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसबाट पाए ।
भारत्तोलनका राष्ट्रिय खेलाडीसमेत रहेका हमाल खेलकुदका विभिन्न संस्थामा पनि लामो समय आवद्ध रहे ।
युवा उमेरदेखि नै हमालले धनगढी र सुदूरपश्चिममा थुप्रै सामाजिक कामको नेतृत्व गरे । ०४२ सालमा धनगढीमा ब्लड बैंक स्थापनाका लागि स्वरसम्राट नारायण गोपाल, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठहरूको एकल साँझ भएको थियो, त्यसको नेतृत्व हमालले गरेका थिए । त्यसयता उनले कहिले ‘सुन्दर सुदूरपश्चिम’ त कहिले ‘गन्तव्य सुदूरपश्चिम’ भन्दै प्रदेशलाई चिनाउने अभियान चलाए ।
उक्त अभियानमार्फत हमालको नेतृत्वमा सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास भएको थियो । त्यसअघि सुदूरपश्चिम अभावै अभावको क्षेत्र हो, त्यहाँ देउकी प्रथा छ, छाउपडी प्रथा छ, सामाजिक कूरीति छन्, दलित गैरदलितमा भेदभाव छ भनेर नकारात्मक कुराको बढी प्रचार हुन्थ्यो । त्यसलाई चिर्न ुसुन्दर सुदूरपश्चिमु अभियान चलाइएको थियो । सुदूरपश्चिमका सम्भावनाका एक हजार तस्बिर देशव्यापी रूपमा प्रदर्शनीमा लगिएपछि उक्त अभियान चर्चामा आएको थियो । त्यसैले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता परिकल्पनाकारका रूपमा पनि लिइन्छ ।
डेढ दशक अगाडि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा संघले सर्वोत्कृष्ट शाखाको पुरस्कार पायो । उनकै नेतृत्वमा सुदूरपश्चिममा पुग्ने केन्द्रका प्रभावशाली नेतालाई यहाँका समस्या सम्झाउन लागि मागका बुँदा बराबर तौल भएको माला लगाउने अभियान सुरु गरियो । धनगढीमा महोत्सवको सुरुवात गरेर २१ बुँदे मागसहित २१ किलोको माला शेरबहादुर देउवाले त्यही अभियान अन्तर्गत पाएका थिए ।
हमालले धनगढी उपमहानगरमा कपडा बैंक र निशुल्क महाप्रस्थान यान पनि सञ्चालन गरेका छन् । दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६,०० बढीले रोजगारी पाएका छन् । हमालले व्यवसाय भने टिनको बाकस बनाउन सुरु गरेर थालेका थिए ।
उनै हमाललाई धनगढीवासीले मेयरका रूपमा गरेका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
मेयरमा निर्वाचित भएपछि उनले धनगढी उपमहानगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई ुधनगढी मोडेलु स्थापित गर्ने घोषणा गरेका छन् ।