धनगढी, ७ जेठ । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित देखिएको छ। गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि हमालको जित निश्चित देखिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपरान्ह ५ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७५८ मतको अग्रता लिएका छन्।
६३ हजार ७१५ मत खसेको धनगढीमा ५६ हजार २२६ मत गन्दा हमालले २४ हजार ५२९ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मतसहित हमाललाई पछ्याइरहेका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ३८६ मत ल्याएर तेस्रो स्थानमा छन्। यस्तै उपमेयरमा एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारीबीच कडा टक्कर भइरहेको छ।
रानाले १२ हजार ५९४ र अधिकारीले ११ हजार ५८९ मत पाएकी छिन्। उनीहरुबीच एक हजार ५ मतको अन्तर छ। यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन्।
१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ।