धनगढी, ३ जेठ ।कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवारले दोस्रो कार्यकालका लागि जित हासिल गरेका छन् । प्रमुखमा माओवादीका पोतिलाल चौधरी दोस्रोपटक निर्वाचित भएका हुन् ।
चौधरीले मतगणना सुरु भएदेखि नै अग्रता कायम गरेका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उमेदवार कमला बोहरालाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।
उनी आठ हजार ७८७ मत ल्याउँदै नगर प्रमुखमा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । एमालेकी बोहराले ६ हजार ८०३ मत ल्याइन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार हरेन्द्र विष्टले ६ हजार ३१२ मत पाएका छन् ।
उपप्रमुख पदमा एमालेका उमेदवार जोगराम चौधरी विजयी भए । चौधरीले सात हजार ५८३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी मन्जु सााले ६ हजार ८३५ मत पाइन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी उमेदवार खिना भण्डारीले ६ हजार ६१३ मत ल्याइन् ।
बेलौरी नगरपालिकाका वडा नम्बर–१, ५, ८ र १० मा माओवादी प्यानलसहित विजयी भयो । एमालेले २, ३, ४ र ६ वडामा जित हासिल गरेको छ । ७ र ९ गरी दुई वडामा कांग्रेसले जितेको छ ।
बेलौरी नगरपालिकामा कुल ३४ हजार ५३९ मतदाता छन् । स्थानीय तह निर्वाचनअन्तर्गत गएको वैशाख ३० गते सम्पन्न मतदानमा यहाँ २५ हजार ७३८ मत खसेको थियो ।