धनगढी, १ जेठ/८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा मतगणना सम्पन्न भएका पाँच स्थानीय तहमा दुई ठाउँमा एमाले र कांग्रेसमा दुई ÷ दुई र एकमा माओवादी केन्द्रले जीत निकालेका छन् ।
बझाङमा एमालेले २ र कांग्रेसले डडेल्धुरा र डोटीमा गरी २ र दार्चुलामा एक ठाउँमा जीत निकालेका हुन् ।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी प्यानलसहित विजयी भएका हुन्।
कार्कीले ३१८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले १७०३ मत पाए । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी ज्ञानु सेठीले ३०१३ मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले १७०३ मत प्राप्त गरे। यस्तै, डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्षमा पनि नेपाली कांग्रेसका भैरवबहादुर साउँदले जितेका छन् ।
साउँदले २ हजार ३ सय ४३ मत ल्याउँदै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले १६८४ मत पाएका हुन् । उपाध्यक्षमा कांग्रेसकी डम्मरीकुमारी विष्टले २४०७ मत ल्याएर विजयी भइन् । एमालेकी सपना सिराडीले २२७६ मत पाएर पराजित भइन् । यस्तै, बझाङका दुई स्थानीय तहमा एमालेले जित निकालेको छ ।
बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी २ हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । रोकायाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२०३ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनका राम खाती ३१५० मत ल्याएर विजयी भएका छन् ।
उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५८७ मत ल्याइन्। त्यस्तै, थलारा गाउँपालिका–५मा गठबन्धनका नरबहादुर खाती ३९० मत ल्याएर विजय भएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ३१३ मत ल्याए । यस्तै, जिल्लाको साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मानबहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।
गठबन्धनका उम्मेदारले उज्वल बोहराले ६ सय १३ मत ल्याएर पराजित भएका छन् । गाउँपालिका उपाध्यक्षतर्फ नेकपा एमालेका डोल्मा तामाङले ६७५ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धीबाट बोहरा ६१९ मतसहित पराजित भएका छन् ।
उता दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्षमा सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन् । अपीहिमाल गाउँपालिकामा आइतबार साढे १२ बजे मतगणना सकिएको थियो ।
मतगणना परिणाम अनुसार ठेकरेले २ हजार ३ सय ४ भोट प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गरेका हुन् पराजित मन्यालले १ हजार ३ सय ८५ मत ल्याएका छन् ।
उपाध्यक्ष निर्वाचित देवकीदेवी बोहराले २ हजार २७ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएकी थिइन् । २०७४ सालमा चुनावमा एमालेका मन्याल अध्यक्षमा निर्वाचित भएका थिए । अन्य स्थानीय तहमा मतगणना जारी छ । अन्तिम मतपरिणाम आएको छैन ।