धनगढी, १ जेठ । स्थानीय तह निर्वाचनअन्र्तगत कैलालीका सबै पालिकामा मतगणना शुरु भएको छ । कैलालीका पालिकामा टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । टीकापुर नगरपालिका वडा नं. ५ को मतगणना भइरहेको छ । टीकापुरमा अहिलेसम्म १ हजार ६ सय मत गणना सकिएको छ । मतपरिणामअनुसार प्रमुखमा उन्मुक्ति पार्टीका रामलाल डगौरा थारुले ५८८, नेकपा एमालेका श्याम खत्रीले २६७ नेपाली काँग्रेसका नवराज रावलले २१९ मत प्राप्त गर्नुभएकोे छ ।
उप प्रमुखमा उन्मुक्तिबाट उल्कादेवी विकले ५०१, एमालेका उपमा केसीले १९० नेकपा माओवादी केन्द्रका खडक शाहले २१३ मत प्राप्त गर्नुभएको छ । वडा नं ५ मा २ हजार ९६० मत खसेका निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिनुभयो ।
कैलालीको जानकी गाउँपालिकामा पनि मतगणना शुरु भएको छ । जानकी गाउँपालिकामा २०० मतको पछिल्लो अपडेट अनुसार अध्यक्षमा नेपाली काँग्रेसका परशुराम महतौले ५५, उन्मुक्ति पार्टीका गणेश चौधरीले ३३ र नेकपा एमालेका टेकबहादुर बमले २० मत प्राप्त गर्नुभएको छ ।
भजनी नगरपालिकामा ८५८ मतको परिणाम सार्वजनिक भएको छ । भजनीमा नेकपा एमालेले अग्रता लिएको छ । भजनीमा मेयरमा एमालेका हर्कबहादुर बुढा २७९, नागरिक उन्मुक्ति पार्टीका केवल चौधरी २५५, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरीले २०९ मत प्राप्त गर्नुभएको छ ।
लम्कीचुहा नगरपालिकामा १३१ मतको परिणाम सार्वजनिक भएको छ । लम्कीचुहामा गठबन्धनबाट नेपाली काँग्रेसले अग्रता लिएको छ । नेपाली काँग्रेसका शुशिला शाहीले ५८ र नेकपा एमालेका महादेव बजगाईले ४४ मत प्राप्त गर्नुभएको छ ।
जोशीपुर गाउँपालिकामा पनि दिउँसोबाट मतगणना शुरु भएको छ । जोशीपुरमा वडा नं. १ को मतगणना थालिएको छ । जोशीपुरमा ६१० मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । जोशीपुरमा उन्मुक्ति पार्टीले १७०, राप्रपाले १५०, काँग्रेस ११२, र एमालेले ४४ मत प्राप्त गरेको छ ।
कैलालीको गौरीगंगा नगरपालिकामा २०० मत परिणामअनुसार माओवादीले अग्रता लिएको छ । गौरीगंगामा गठबन्धनबाट माओवादीका देवीदत्त कडेल १११, एमालेका पदम सिंगाल ५८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा काँग्रेसका भोजबहादुर बलमे ९८ र एमालेकी शान्ति देवी सिंहले ६० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, घोडाघोडीमा पनि १०० मत परिणामअनुसार गठबन्धनबाट एकीकृत समाजबादीका खडक रावत ४४ मतसहित अगाडी हुनुुहुन्छ । घोडाघोडीमा नेकपा एमालेका ममताप्रसाद चौधरीले ३२ मत प्राप्त गर्नुभएको छ ।
कैलालीकै एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता छ । धनगढी उपमहानगरपालिकामा ३५३ मतमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १४८, गठबन्धनमा नेपाली काँग्रेसका नृपबहादुर वडले १०३, एमालेका रणबहादुर चन्दले २० मत प्राप्त गर्नुभएको छ ।