धनगढी, १ जेठ/सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन्। २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५७४ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३८१ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।