काठमाडौँ, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने भ्रमण तालिका सार्वजनिक भएको छ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले मोदीको लुम्बिनी भ्रमणको बिहीबार घोषणा गरेका हुन्। जेठ २ गते केही घण्टाका लागि मोदी लुम्बिनी आउँदैछन्।प्रधानमन्त्री शेर बहादुर देउवाको निमन्त्रणामा मोदी औपचारिक भ्रमणका लागि लुम्बिनी आउन लागेका हुन्।
मोदी भारतीय प्रधानमन्त्रीको हैसियतमा पाँचौ पटक नेपाल आउने भएका हुन्। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार मोदी बुद्ध जयन्तीका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन्।
प्रधानमन्त्री देउवा र मोदी मायादेवी मन्दिरमा हुने बिशेष पूजाआजामा सहभागी हुनेछन्। त्यसैगरी दुवै प्रधानमन्त्रीले भारतको सहयोगमा बन्ने बौद्ध संस्कृति तथा परम्परा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम छ।
देउवा र मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहलमा हुने बुद्ध जयन्ती विशेष समारोहमा भाग लिनेछन्।
लुम्बिनीमै प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारत सहकार्यका साझा हितका विविध विषयमा दुई प्रधानमन्त्रीबीच कुराकानी हुनेछ। प्रधानमन्त्री देउवाले मोदी नेतृत्वको उच्चस्तरीय भारतीय प्रतिनिधिमण्डललाई दिवाभोज दिनेछन्।
‘भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणले द्विपक्षीय सम्बन्ध तथा दुई देशबीच सदियौंदेखि रहिआएको सामाजिक—सांस्कृतिक सम्बन्ध अझ विस्तार गर्न योगदान पुर्याउनेछ’ परराष्ट्रले भनेको छ।
उता भारतीय विदेश मन्त्रालयले भिन्दै प्रेस विज्ञप्ति जारी गरी मोदीको भ्रमणलाई नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराको निरन्तरता भनेको छ।
‘यो भ्रमण भारतको छिमेक प्रथम नीतिको निरन्तरता पनि हो’, विदेश मन्त्रालयले भनेको छ, ‘यसले दुई देशबीचका जनताको साझा सभ्यतामूलक सम्बन्धलाई जोड दिनेछ।’