काठमाडौँ, ११ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको औँठी र मोबाइलसहित तीन जना पक्राउ परेका छन्साथै विमानस्थलमा सुन संकलन गर्न गएका थप एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–२ का सुमन कुमार कापर, रोल्पाको त्रिवेणी गाउँपालिका–३ का खिमराज डाँगी, दाङको तुल्सिपुर उपमहानगरपालिका– ६ का प्रताप चौधरी र स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का सुरज हमाल रहेका छन्।
आइतबार हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका तीन जनालाई विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले चेकजाँचका क्रममा कापरले लगाएको खैरो रंगको जिन्स पाइन्टको पछाडी पट्टी बेल्ट बाँध्ने स्थानमा रहेको ट्याग भित्र सुनको बिस्कुट थान एकको अन्दाजी तौल ५० ग्राम (अन्दाजी मूल्य ४ लाख ३२ हजार ५२५) अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
यस्तै, रोल्पाका खिमराज डाँगी र दाङका प्रताप चौधरीलाई २५/२५ ग्रामको सुनको बेरुवा औँठी र आईफोनसहित प्रहरीले पक्राउ गरेको छ।सो सुनको औँठी स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का सुरज हमालले भन्सार छली गर्न लगाएको खुलेको छ।
सुन संकलन गर्न आएका हमालसहित चारै जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको जनाएको छ।