काठमाडौं, २० चैत । फास्ट बलर कमल सिंह ऐरीको चोटको सफल शल्यक्रिया गरिएको छ ।नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार कमलको सफल शल्यक्रिया भएको जनाएको छ ।कलंकीस्थित नेपाल नेसनल अस्पतालमा आइतबार बिहान कमलको शल्यक्रिया भएको क्यानले जनाएको छ ।
कमललाई ठिक हुन करिब ६ हप्ता लाग्ने बताइएको छ । कमल अहिले क्रिकेट टिमका फिजियो र अस्पतालको डाक्टरको निगरानीमा रहेका छन् ।त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेल मलेसियाविरुद्ध शनिबार कमलले चोट बोकेका थिए।
मलेसियाविरुद्ध फिल्डिङ गर्ने क्रममा उनले काँधको चोट बोकेका थिए । लक्ष्य डिफेन्ड गर्ने क्रममा खेलको १७ औं ओभरमा आदील अन्सारीको बलिङमा मलेसियाका अइनुल हफिजले प्रहार गरेको सट रोक्ने क्रममा कमलले काँधमा चोट बोकेका थिए ।
चोट बोकेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालको रिपोर्ट अनुसार उनको बाँया हातको क्लाभिकुलर फ्राक्चरु भएको र अपरेसन गर्नु पर्ने बताइएको थियो ।मलेसियाविरुद्धको खेल जारी सिरिजमा कमलको पहिलो खेल हो । खेलमा उनले २ ओभर बलिङ गर्दै २० रन खर्चिएर महत्वपूर्ण २ विकेट लिएका थिए ।
उनी सोमपाल कामीको स्थानमा मलेसियाविरुद्ध मैदान उत्रिएका थिए । पछिल्लो समय कमल नियमित राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।सिरिजमा नेपाल लिगको सबै ४ खेल जित्दै फाइनल पुगेको छ । सोमबार हुने फाइनलमा नेपालले पपुवा न्युगिनीसँग उपाधिको लागि खेल्नेछ ।