बझाङ, १५ चेत । भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बझाङबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। केदारस्युँ गाउँपालिका घर भएकी २२ वर्षीया युवती (भाइकी पत्नी)लाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीले जेठाजु बुहारी दुबैको नाम गोप्य राखेको छ।
यही चैत १२ गते राति भाइ नभएको मौका छोपेर बुहारीको कोठा भित्र प्रवेश गरी उनले बुहारीलाई जबर्जस्ती करणी गरेका प्रहरीको भनाई छ।पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा जेठाजुविरुद्ध उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो।
सोही गाउँपालिकाको देउरा बजारबाट आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।
जेठाजुलाई पक्राउ गरेपछि पीडित युवतीलाई महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ। ‘युवतीको स्वास्थ्य परीक्षण भइसकेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेका छौँ,’ डीएसपी विष्टले भने। साभार
