धनगढी १२ चैत/कैलालीमा २ हजार ४५७ जना म्यादी प्रहरीका लागि ११ हजार बढीले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार ११ हजार २ सय २२ जनाले म्यादीका लागि आवेदन दिएका हुन्।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ११ गते ९आज० सम्म दरखास्त दिने समय तोकेको थियो। १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको थियो। फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन पाउने भनिएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने बताइएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन्। उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ।