काठमाण्डौ ११ चैत/बलात्कार अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध शाह पक्षले उच्च अदालतमा निवेदन दिने भएको छ।केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए। पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन्।
‘फौजदारी कार्यविधिसंहिताको दफा ७३ अन्तर्गत हामी आज हामी नक्कल प्रमाणित गरेर लिन्छौँ। लिइसकेपछि निवेदन तयार गरेर एक दुई दिनमै जान्छौँ’, वाग्लेले भने।यसअघि बहसका क्रममा पनि उनीहरुले पीडितको उमेर, पीडितको जाहेरी र शारीरिक परीक्षण गर्दाका कुरा बाझिएको, घटनापछि पनि उनीहरु लामो समयसँगै रहनु जस्ता विषयले बलात्कार नभएको पुष्टि गर्ने जिकिर गरेका थिए।
पल शाहलाई फसाउन खोजेको अडियोबाट पनि सार्वजनिक भइसकेकाले शाहलाई थुनामै राखेर पुर्पक्षन गर्नुपर्ने अवस्था नरहेको उनी पक्षका कानुन व्यवसायीको जिकिर छ।यसअघि बिहीबार जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने र उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। जोशी भने बिहीबार नै धरौटी बुझाएर रिहा भएका छन्।
