शब्द–तस्बिरः सरस्वती साफरी
धनगढी, ७ चैत । पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा मात्रै सदियौंदेखि बसोबास गर्दै आएका आदिबासी रानाथारू एक बेग्लै पहिचान बोकेको समुदाय हो । यही समुदाय विगत एक महिनादेखि होलीमा रमाइरहेको छ । रानाथारू समुदाय होली आउनु अघि १५ दिन अघि र होलीको १५ दिन पछिसम्म होली मनाउने गर्छन् ।
रानाथारूहरु चीर दहन नभएसम्म जिन्दा होली र चीर दहनपछिको १५ दिनसम्म मरी होली अर्थात मृत होली भनेर एक आपसमा रमाइलो गर्दै मनाउने गर्छन् । हो, यहि क्रममा हामी पनि रानाथारू समुदायको होलीका बारेमा विशेष रिपोर्टिङका क्रममा गएका थियौं । हाम्रो टोलीसँग कांग्रेस युवा नेतृ प्रमिला लम्साल, पूनम चटौत तथा रानाथारू समुदायकी समाजसेवी तथा अगुवा सुनिता राना । होली रिपोर्टिङका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ११, बेलागाउँमा रहेको रानाथारू बस्तीमा पुग्दा त्यहाँको माहोल व्यग्लै थियो ।
गाउँ पूरै होलीको गीतले गुञ्जयमान बनेको थियो । सबैतिर होलीको रौनक थियो । हो, यही र यस्तै रौनकता छाएको छ अहिले कैलाली र कञ्चनपुरका रानाथारू बस्तीमा । रानाथारू समुदायका युवायुवती मिलेर आफ्नो पहिरनमा सजिएर खेलीएको होली बिछट्टै रमाइलो देखिन्छ । अझ पुरुषले झगयी, फेटा र महिलाले गोट, घँघरिया, मँगिया, उनिया, घुँघट, रुखामा सजिएर ढोल बजाउँदा गोलबद्ध भई कृष्ण चरित्र, राम चरित्र, देवी देउताको वीरताका गाथा गाउँदै खेलिएको होलीले रानाथारू बस्ती गुञ्जयमान बनेका छन् ।





