काठमाडौं,७ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने लक्ष्यमा छ । नेपाल पछिल्लो खेलमा यूएईसँग नै पराजित भएको थियो भने त्यसपछि यूएई पपुवा न्यु गिनीसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई हराएको थियो ।
अघिल्लो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालका लागि यूएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।पछिल्लो समय यूएईमा लयमा देखिएको छ । एक महिनाअघि टी(२० विश्वकप छनोट र त्यसअघिको टी–२० सिरिजमा पनि नेपाल यूएईसँग पराजित भएको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले यूएईलाई पछिल्लो पटक सन् २०१९ मा उसैको मैदानमा हराएको थियो । आजको खेलमा नेपाललाई यूएईविरुद्ध बदला लिँदै खेल जित्ने अवसर छ ।
नेपाल र यूएईबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा ५ खेल भएका छन् । जसमा नेपालले २ खेल जितेको छ भने ३ खेल हारेको छ ।
