काठमाडौं, २६ फागुन । एक नाबालिग गायिकाको जबर्जस्ती करणीसम्बन्धी उजुरीपछि नायक पल शाहमाथि अहिले तनहुँ जिल्ला प्रहरी कार्यालय र नवलपरासी जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेका छन् ।
पीडित भनिएकी नाबालिगले दुई ठाउँमा जाहेरी दिएपछि दुवै जिल्लाले अनुसन्धान गरिरहेका हुन् । तनहुँ प्रहरीमा उजुरी दिएको केही दिनपछि ती नाबालिगले नवलपरासीमा पनि उजुरी गरेकी हुन् । पलले आफूलाई तनहुँ र नवलपरासीमा जबर्जस्ती करणी गरेको ती नाबालिगको आरोप छ । नवलपरासी प्रहरीले पललाई तनहुँबाट लगेर अनुसन्धान गरिरहेको छ ।
महान्यायधिवक्ता कार्यालयका प्रवक्ता संजिवराज रेग्मी पीडीत एउटै भए पनि घटनास्थल र मिति फरक भएका कारण दुईवटा प्रहरी कार्यालयमा उजुरी दिन मिलेको बताउँछन् ।
‘घटना बेग्लाबेग्लै ठाउँ र मितिमा भएको देखिन्छ । आफ्नो ठाउँमा भएको घटनाबारे दुवै जिल्लाले आफ्नो हिसाबले अनुसन्धान गर्नेछन् र अदालतमा अभियोगपत्र दर्ता हुनेछ’, सहन्यायधिवक्तासमेत रहेका रेग्मी भन्छन् ।
तनहुँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग लैजानेछ । थुनछेकको बहसपछि अदालतले उनलाई साधारण तारेख वा धरौटीमा छाड्ने आदेश गरेमा र उनी छुट्नसक्ने अवस्था भएमा शाहलाई आवश्यक प्रक्रियापछि नवलपरासी अदालत पठाइने छ । नवलपरासी जिल्ला अदालतले पनि थुनछेक बहसपछि आदेश सुनाउने छ ।
महान्यायधिवक्ता कार्यालयका अनुसार तनहुँ जिल्ला अदालतको आदेशले शाह पुर्पक्षका लागि थुनामा गएमा नवलपरासीमा पनि मुद्दाको प्रक्रिया अगाडि बढिरहने छ । अदालतमा बकपत्र गराउनेलगायत फैसलापूर्व गरिनु पर्ने कामहरू दुवै अदालतमा एकसाथ अगाडि बढ्न सक्छ । अन्तमा, दुवै अदालतले उपलब्ध प्रमाणहरूका आधारमा फैसला गर्नेछन् । तर, यदी दुवै स्थानका घटनामा अदालतबाट शाहलाई दोषी ठहर गर्ने अन्तिम फैसला भएमा उनले दुवै सजाय भोग्छन् त रु कि एउटा मात्र सजाय भोग्छन् रु फैसला चित्त नबुझेको अवस्थामा शाहले उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन गर्न सक्नेछन् । पुनरावेदन गर्न दिएको समयभित्र पुनरावेदन नभए पछिल्लो फैसला स्वत अन्तिम फैसला हुनेछ ।