धनगढी,२१ फागुन । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ ।धनगढी रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
ए डिभिजन क्लब हिमालयन आज मोफसलको टोली जन जागृतिलाई अर्को चरणमा पुग्न चाहन्छ। जागृति पनि हिमालयनलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।यस अघि प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लबलाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा बागमती युथ क्लबले न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको छ ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।