जनकपुर, १६ फागुन । आठ लाख रुपैयाँ घुस लिएको प्रकरणमा एक जना पालिका अध्यक्षविरुद्ध कारबाही नै नचलाई मौन बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्का पालिका प्रमुखलाई ५ लाख घुससहित पक्राउ गरेको छ।
रौतहटको देवाहीगोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित चार जनालाई घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। आइतबार साँझ नगरपालिका कार्यालयबाट उनीसहित चार जनालाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (टंगाल) बाट खटेको टोलीले नियन्त्रणमा लिएको हो।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ मागिरहेको गोप्य उजुरीका आधारमा अख्तियारले पछ्याएको थियो।
सोही क्रममा आइतबार साँझ मेयर पटेल, उनका सहयोगी अशोकप्रसाद पटेल, योजना शाखाका प्रमुख (खरिदार) मुकेश पटेल र सहलेखापाल प्रदीपकुमार यादवलाई सेवाग्राहीबाट घुसबापत लिएको २ लाख ५० हजार रुपैयाँ र २ लाख ५० हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए।उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।
यसअघि मधेस प्रदेशकै धनुषाको बटेश्वर गाउँपालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्री यही फागुन १७ गते गाउँपालिकाकै प्रशासनिक भवन निर्माण सम्पन्नपश्चात् भुक्तानी प्रयोजनका लागि सेवाग्राहीबाट ८ लाख रुपैयाँ घुस लिएका थिए। सो क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय (टंगाल) को टोलीले धनुषाको क्षिरेश्वर नाथ नगरपालिकास्थित महेन्द्रनगरबाट पछ्याएको थियो।
गाउँपालिकाका सवारीचालक वीरबहादुर मगरले चलाएको प्र७शधवस। २–०२–००१ झ ०००२ नम्बरको स्करपियो गाडीमा ८ लाख रुपैयाँ घुस लिएर भाग्दै गरेका गाउँपालिका अध्यक्ष क्षेत्री क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित बाटो छेउमा फ्याँकेर फरार भएका थिए।
सो क्रममा फालेको रकम ८ लाख र सवारीचालक वीरबहादुर मगरलाई बटेश्वर गाउँपालिका ४ बाट नियन्त्रणमा लिइएको थियो। अख्तियारले भोलिपल्टै प्रेस विज्ञप्ति जारी गरी घटना जानकारी गराएको थियो।
फरार गाउँपालिका अध्यक्ष राउत पहुँचका आधारमा तीन महिनापछि अख्तियरमा हाजिर भएर जमानतमा छुटेका थिए।
‘पावर’ पहुँचकै कारण हालसम्म अख्तियारले उनको प्रमाण नपुगेको भन्दै कारबाही अघि बढाएको छैन। मुद्दा चलाउन उनको अडिओ कल, भिडिओसहितका प्रमाण पर्याप्त रहेको अख्तियार स्रोतको भनाइ छ। मुद्दा चलाएको भए उनी गाउँपालिका अध्यक्षबाट स्वतः निलम्बन हुने थिए। तर पहुँचकै कारण विशेष अदालतमा उनीविरुद्ध मुद्दा नचलाई कार्यालयमै तामेल गरिएको स्रोतको दाबी छ।
गाउँपालिका अध्यक्ष पद उनले तत्कालीन नेकपा एमालेको माधव नेपाल पक्षबाट टिकट लिएर जितेका थिए। पछि कानुनी डन्डाबाट बच्न उनी एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेका थिए।
उनी अख्तियारमा हाजिर भएर सो बेलाका उपप्रधामन्त्री रघुवीर महासेठसँगै बटेश्वर आएका थिए। एमालेका स्थानीय नेतारकार्यकर्ताले युद्ध जितेर आएको शैलीमा उनलाई भव्य स्वागत गर्दै गाउँपालिका कार्यालयमा हाजिर गराएका थिए। उनी अहिले सार्वजनिक कार्यक्रमहरूमा आफूलाई अख्तियारले फसाएको भनेर अभिव्यक्ति दिने गरेका छन्।