धनगढी, ६ फागुन/चर्चित लोक तथा देउडा गायिका रेखा जोशी सुदूरपश्चिम प्रदेशको लागि मर्यादित महिनावारी व्यवस्थापन सद्भावना राजदूतमा नियुक्त भएकी छिन । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (आर.भि.डब्लु.आर.एम.पी) नेपालले गायिका जोशीलाई सद्भावना राजदूतमा नियुक्त गरेको हो । जोशी सुदूरपश्चिममा लोकप्रिय गायिकाको रुपमा स्थापित छिन ।
छाउपडी नामले चिनिने सुदूरपश्चिम प्रदेशमा रहेको महिनावारी व्यवस्थापन सम्बन्धि कुसंस्कारका बिरुद्ध आफ्नो कलामार्फत सांगीतिक अभियान सञ्चालन गर्दै महिनावारिलाई मर्यादित बनाउन जोशीले योगदान गर्ने बताइन ।सेलिब्रिटीहरुले यस प्रकारका अभियानहरुमा आफ्नो कला मार्फत सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दा लक्षित बर्गमा सकारात्मक प्रभाव पर्न जाने भएकोले गायिका जोशीलाई सद्भावना राजदूतमा नियुक्त गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जनाएको छ । मर्यादित महिनावारी व्यवस्थापन सद्भावना राजदूतको अवधारणालाई फलदायी बनाउदै परियोजनाको समाप्ति पश्चात पनि यसको निरन्तरताको लागि अन्य सरोकारवालाहरुसंग छलफल भैरहेको परियोजनाले जनाएको छ ।
सद्भावना राजदूतले विद्यार्थीहरू, ज्येष्ठ नागरिकहरू, युवाहरू, आमजनसमुदाय र अन्य सरोकारवालाहरूबीच विभिन्न माध्यमहरू जस्तै गायन, कन्सर्ट र स्टेज कार्यक्रम, टक शो, सामाजिक सञ्जाल, अन्तर्वार्ताहरूमार्फत महिनावारी व्यवस्थापनका सवालमा सचेनातामुलक संदेश प्रवाह गर्ने छिन् । यसका अतिरिक्त महिनावारी को बिषयमा प्रदेश तथा केन्द्र स्तरमा सञ्चालन हुने कार्यक्रममा सहभागी भै नीति निर्माता र निर्णायक तहमा समेत महिनावारी व्यवस्थापन सम्बन्धि पैरवी गर्ने छिन ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिनावारी सम्बन्धि हानिकारक अभ्यासहरुको कारणले गर्दा दर्जनौ महिलाहरुले ज्यान गुमाई सकेका छन् । सबै तहका सरकार र बिभिन्न संघ संस्थाहरुले छाउपडी कुसंस्कार अन्त्यका लागि बिभिन्न प्रयासहरु गर्दा अवस्था सुधारोन्मुख भएपनि अपेक्षित रुपमा नतिजा हासिल गर्न सकिएको छैन । यस परिबेशमा गायिका रेखा जोशी सद्भावना राजदूतको भूमिकामा सांगीतिक सचेतना मार्फत मर्यादित महिनावारी व्यवस्थापनको अभियानमा आफ्नो क्षमताले भ्याए सम्म केहि योगदान गर्ने बताइन ।
आफु पनि सुदूरपश्चिमकै भएको र महिनावारीसंग जोडिएका कुप्रचलन लाखौं आमा दिदि बहिनिहरुले भोग्नु परेको पिडासंग आफु निकै परिचित भएकोले पनि यस्तो अमानविय कुसंस्कार बिरुद्धको अभियानमा आफु लागि पर्ने उनले बताइन । हाललाई ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना कार्यरत केहि गाउ“पालिकाहरुमा सांगीतिक कार्यक्रममार्फत अभियान थालनी गर्ने उनले बताएकी छिन । यसका साथै संचारका अन्य बिभिन्न माध्यम मार्फत सचेतनामुलक सन्देशहरु प्रवाह गर्ने समेत गायिका जोशीले बताएकी छिन ।