धनगढी, २४ माघ/प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसहित खेलग्राम बनाउने निर्णय गर्नुभएको छ ।
कांग्रेस नेतृ डा. आरजु राणा देउवाले धनगढीमा उक्त मैदान र खेलग्राम बनाउने पहल गरेकी हुन् । उनकै पहलमा गत माघ १० गतको मन्त्रिपरिषद बैठकको निर्णयबाट धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको ३९ हजार ९ सय १० वर्गमिटर जग्गा क्रिकेट मैदान र खेलग्राम बनाउनेगरी हस्तान्त्रण गर्ने निर्णय गरेको छ ।
सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ । सरकारको यो निर्णयसँगै धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ । यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएकोछ । यसमा अन्तराष्ट्रिय क्रिकेट खेलहरु गराउन सक्नेगरी भौतिक पूर्वाधार तयार गरिने छ ।
“फाप्लालाई सुरुमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने मात्रै योजना रहेको थियो । धनगढी क्रिकेटको शहरको रुपमा रहेकोले पनि क्रिकेट मैदान सहितको खेलग्रामको आवश्यकता ठानेर नै त्यसका लागि पहल गरिएको हो ।” काग्रेंस नेतृ डाक्टर देउवाले भनिन्– “प्रदेशकै समृद्धिसग जोडिएकोले पनि मैले व्यक्तीगत रुपमा प्रधानमन्त्री ज्युलाई खेलग्रामको निर्णय गर्न अनुरोध गरेकी थिए ।
सोही अनुसारको निर्णय भएको छ । अब सबै सुदुरपश्चिमवासीहरु मिलेर यसलाई साकार बनाउनुपर्छ । फाप्लालाई मुर्तरुप दिने काममा पनि मेरो पुर्ण साथ र सहयोग रहनेछ ।” फाप्लामा यसअघि पटकपटक मैदान निर्माणका लागि प्रदेश र संघीय सरकारले बजेट विनियोजन गर्दै आएकोमा जग्गा प्राप्तीको प्रक्रिया भने अगाडि बढेको छैन। तर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले मैदान र खेलग्राम निर्माणका लागि नेपाल सरकारको नाममा रहेको ६९ हजार ९१० वर्गकिलोमिटर जग्गा उपलब्ध गराउने पनि निर्णय गरेको हो।