सुर्खेत,२४ माघ । सुर्खेतको वीरेन्द्रनगर–२ खोलीगाउँमा आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कुटपिट भएको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो ।प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ ।
नियन्त्रणमा लिइएका रमेशलाई सोमबार सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।