धनगढी,१९ माघ । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप आउँदो फागुन १९ देखि २८ गतेसम्म धनगढीमा हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले आज धनगढीमा पत्रकार सम्मेलन गरेर सुदूरपश्चिम खप्तड गोल्डकप सञ्चालनको मिति सार्वजनिक गरेको हो ।
प्रतियोगितामा पाँच ए डिभिजन, दुई मोफसल, दुई विदेशी र एक आयोजक गरेर १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । दुई विदेशीसहित १० टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख रुपैँयासहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक जनाएको छ । धनगढी रंगशालामा हुने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २०/२० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुरेश हमालले बताए ।
फिफा र एन्फाको नियमअनुसार हुने प्रतियोगिता आयोजनामा एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितालाई दैनिक ५हजार दर्शकले प्रत्यक्ष तथा ५० लाख बढीले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दाबी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने भएपछि यसवर्ष प्रतियोगिताको नामाकरण ‘मुख्यमन्त्री अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ।