बैतडी ९ माघ/सरकारले सञ्चालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम स्थानीय तहका जनप्रतिनिधिले मनपरी तरिकाले चलाइरहेको पाइएको छ । न्यूनतम एक जनाले सय दिनको रोजगारी पाउनुपर्ने प्रवधान भए पनि जनप्रतिनिधिले सय दिनको काम नदिने गरेको स्थानीयको गुनासो छ ।
चालू आर्थिक वर्षमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ मा छनोट भएर आएका एक जना व्यक्तिको ठाउँमा पाँच जना लगाएको पाइएको छ । वडा–२ मा एक जनाले २० दिनको मात्र रोजगार पाएका छन् ।सबैले रोजगारी पाउनुपर्छ भनेर आए पनि व्यवस्थापन गर्दा एक जनालाई २० दिनको मात्र रोजगारी दिइएको वडाध्यक्ष दशरथ मंगोलाले बताए । ‘४१ जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनोट भएका थिए । सबैले हामीलाई पनि रोजगार चाहिन्छ भनेपछि बाँडचुँड गरेका हौं,’ उनले भने ।
वडा सदस्यले छनोट भएर आएका तपाईंहरु नै हो र तपाईंकै सट्टामा थप चार जना थप्नुपर्छ भनेर अरूलाई पनि मिसाएको वडा–२ का रोजगारमा छनोट भएकाहरुले वताए । जनप्रतिनिधिले व्यवस्थापन गर्नुको सट्टा सबैलाई रोजगारको नाममा पाएको इलम पनि खोसेको छनोटमा परेकाको गुनासो छ ।गत वर्ष पनि गाउँपालिकाको ६ नम्बरबाहेक अरू सबै वडामा छनोट भएका व्यक्तिसँग एक–एक जना थपेर ५० दिनको मात्र रोजगार दिइएको थियो । जनप्रतिनिधि भने सबैलाई समेटेको बताउँछन् । वडामा प्रधानमन्त्री स्वरोजगारका व्यक्तिलाई काम गर्न थप योजना आउनुपर्नेमा त्यहाँबाट छनोट भएर बजेटिङ गरेका योजना गाउँपालिकाले काटेर रोजगारीमा समस्या खडा गरेको पञ्चेश्वर गाउँपालिका–६ का वडाध्यक्ष रामसिंह पुजराको आरोप छ ।
वडा–६ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँग साझेदारीमा कुनै पनि योजना छैनन् । रोजगारमा छनोट भएका व्यक्तिलाई बैंकमार्फत भुक्तानी दिने व्यवस्था रहेकाले जनप्रतिनिधिले छनोट भएका व्यक्तिको मात्र बैंकमा खाता खोल्न लगाउने र उसकै नाममा सय दिनको रकम भुक्तानी गराएको पाइएको छ ।कार्यविधिमा छनोट भएका व्यक्तिले मात्र सय दिनको रोजगार पाउनुपर्ने र बैंकमार्फत भुक्तानी गर्नुपर्ने कार्यविधि छ । कार्यविधिअनुसार काम नगरी आफ्नै नियमबमोजिम काम गराउने र भुक्तानी गर्दा कार्यविधिसँग मेल खाने कागजात ल्याउने गरेको गाउँपालिकाकी रोजगार संयोजक सन्ध्या जोशी भट्टले बताइन् । ‘कार्यविधिअनुसार गर्नुपर्छ भन्दा जनप्रतिनिधि मान्दैनन्,’ उनले भने ।
चालू वर्षमा गाउँपालिकाभर २२४ जना प्रधानमन्त्री स्वरोजगारका लागि छनोटमा परेका छन् । गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगारसँग साझेदारी भनेर गाउँपालिका र वडाबाट छनोट भएका १९ योजनामा काम गराइरहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनोट भएका प्रत्येकले ५७७ रुपैयाँ प्रतिदिनको ज्याला पाउँछन् ।