धनगढी, ८ माघ । भर्जिन ल्याण्डकारुपमा परिचित सुदुरपश्चिममा रहेको पर्यटकीय क्षेत्र खप्तड वरपर छायांकन भएको को होला त्यो २ म्युजिक भिडियोको रिलिज भएको छ । गत भदौमा सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियोमा मोडेल पल शाह र कृष्टिना थापाले अभिनय गरेका छन् । सो म्युजिक भिडियो शुक्रबार युट्बमार्फत सार्वजनिक गरिएको हो ।
सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शव्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ । सो गीतको मेल भर्सन तीन वर्षअघि नै आइसकेको छ । मेल भर्सन गायक गिरी आफैले गाएका छन् ।अन्यत्रै सुटिङ गरिएको मेल भर्सनमा पल शाह र करुणा श्रेष्ठ मोडेल रहेका छन् ।
सो गीतको फिमेल भर्सनमा सुमन गुरुङको स्वर रहेको छ । गीतको शव्द र संगित गायक गिरीकै रहेको छ भने म्युजिक भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका छन् ।
यसअघि गत असोजमा खप्तडमै सुटिङ भएको जीवन फुल्ने मेरो लहरा सार्वजनिक भएको थियो ।१० दिन लगाएर सुटिङ गरिएको को होला त्यो र जीवन फुल्ने मेरो लहरा गीतको छायांकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहेका गायक सुनिल गिरीले बताए ।
गायक गिरी १२ जना काठमाडौ र १० जना बझाङबाट लिएर गत भदौ २५ गते खप्तड पुगेका थिए ।राष्ट्रिय स्तरका कलाकार गएर खप्तडमा सुटिङमा गरेको सम्भवत यी दुई म्युजिक भिडियो नै रहेको अनुमान छ । सुदूरपश्चिम क्षेत्रमा चर्चित देउदा गीतका सुटिङ भने धेरै भएका छन् ।
३१०० देखि ३५०० मिटरसम्मको उचाइमा रहेको खप्तड प्राकृतिकरुपमा निक्कै रमणीय छ । सँधै आनन्ददायी मौसम रहने खप्तड घना जंगल र धार्मिक क्षेत्रकारुपमा पनि परिचित छ । खप्तड बाजुरा, वझाङ, डोटी र अछाम गरेर चार जिल्लाको साझा क्षेत्र समेत हो ।