धनगढी, ६ माघ । सुदूरपश्चिम प्रदेशमा एकैदिन ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार २ हजार २८६ जनाको परीक्षण गर्दा ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो।
२ सय ९५ जना एन्टिजेन र २ सय ३९ जनाको पीसीआरमार्फत संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। आज थपिएकामध्ये १ सय ५५ जना संक्रमित भने आजै भारतबाट आएका नागरिक हुन्।
त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ७४, गड्डाचौकी नाकाबाट आएका ७६, जुलाघाटबाट आएका ४ र पुलघाटबाट फर्केका एकजनामा संक्रमण पुष्टि भएको छ। आज सुदूरपश्चिमका नाका भएर १ हजार ४६७ जना स्वदेश फर्केका छन्।
योसंगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार नाघेको छ। निर्देशनालयले तीन हजार २१ जना सक्रिय संक्रमित रहेको जनाएको छ। सबैभन्दा बढी कैलालीमा १ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन्।