पेरिस । फ्रेन्च लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मन ९पिएसजी०ले स्टेड ब्रेस्टलाई २(० गोलको नतिजामा पराजित गरेको छ । महारथी पिएसजीलाई जित दिलाउन युवा फरवार्ड किलियान एम्बाप्पे र थिलो केहरेरले एकरएक गोल गरे ।
युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पिएसजी खेलको ३२औं मिनेटमा अग्रता बनाएको थियो । ब्रेस्टमाथि हाबी बनेको पिएसजीका लागि विजनाल्डमको पासमा गोल गर्दै एम्बाप्पेले पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए ।दोस्रो हाफको सुरुआतमै अग्रता दोब्बर पारेको पिएसजीले सोही अग्रताको बचाउ गर्दै सहज जित निकाल्यो । खेलको ५३औं मिनेटमा थिलोले नुनो मेन्डिसको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर पारेका थिए ।
ब्रेस्टविरुद्धको खेलमा पिएसजीका स्टार फरवार्ड लियोनेल मेसी र नेइमार थिएनन् । जितसँगै पिएसजीले २१ खेलबाट ५० अंक जोडेको छ । पराजित ब्रेष्ट समान खेलबाट २५ अंकसहित १३औं स्थानमा छ ।
