एमालेलाई माधव नेपाल : सिंहदरबारमा स्वीकार, बानेश्वरमा अस्वीकार
पुस १ गते बसेको संसदको विकास तथा प्रविधि समितिको बैठक ।
काठमाडौं ,२९ पुस । प्रमुख विपक्षी दल नेकपा एमालेले संघीय संसद निरन्तर अवरोध गरेको तीन महीना पुग्न लाग्यो । २३ भदौ २०७८ देखि ११ कात्तिकसम्मको ५१ दिन चलेको अधिवेशनको पूरै अवधि सँगै २८ मंसीरबाट शुरु भएको चालू अधिवेशन पनि एमालेले अवरुद्ध गर्दै आएको छ । यति लामो समय एमालेकै कारण संसद चल्न सकेको छैन । यसको एउटै कारण हो- नेकपा एकीकृत समाजवादी पार्टीको अस्तित्व अस्वीकार ।
एमाले फुटाएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपछि प्रमुख प्रतिपक्षीले निरन्तर संसद अवरोध गर्दै आएको छ । एमाले सांसदहरुले नेपाल नेतृत्वको एकीकृत समाजवादीका सांसदहरुलाई ‘गैरसांसद’ को संज्ञा दिंदै आएका छन् । उनीहरुले संसदमा लगाउने नारा हो, ‘गैर सांसदलाई प्रवेश निषेध गर !’