धनगढी,२६ पुस । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। बिहान ११ बजेसम्म एक २१ मत खसेको निर्वाचन समितिले जनाएको छ। बिहान ८ बजेबाट निर्वाचन सुरू भएको थियो ।६ सय ९ मतदाता रहेको जिल्लामा दिउँसो १ बजेसम्म मतदान चल्ने बताइएको छ। एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन् ।
मतदानमा ढिलाइ भएको भन्दै आईतवार प्रतिनिधिहरु आक्रोशित भएपछि अधिवेशन स्थलमा तनाव सिर्जना भएको थियो। दुई पक्षबीचको विवादका कारण निर्वाचन समितिले सोमबार बिहान सम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार १५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ।
सचिवमा दान बहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ। १२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ। खुल्ला तर्फ १२ महिला निर्विरोध निर्वाचित भएका छन्। भूगोलतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट २५, २ बाट ३१ जना, ३ बाट २० जना ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ। ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५र५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् ।
जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ। महिलातर्फ २ जना निर्वाचित भइसकेका छन्। दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ। राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ। राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन्। पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ। १ पदमा महिला निर्विरोध भएका छन्। मजदुरतर्फ पुरुष र महिला गरि ३ जना निर्वाचित भएका छन्। दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ। अपाङ्गतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ।