धनगढी, २५ पुस । नेकपा एमालेको कैलाली जिल्ला समिति चयनका लागि निर्वाचन हुने भएको छ। अध्यक्ष लगायतका पदाधिकारीका आकांक्षी नेताहरुबीच सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो।
नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा उत्रिएका छन्। अध्यक्ष पदका अर्का आकांक्षी रहेका जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेले चन्दलाई सर्मथन गर्दैै उनको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन्।
निवर्तमान अध्यक्ष थापाको प्यानलबाट उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा निवर्तमान सचिवसमेत रहेका दानबहादुर बिक ‘चित्रण’, सहसचिवमा रबिन्द्र चौधरी र मदनराज ओझाले उम्मेदवारी दर्ता गराएका छन्। चन्दको प्यानलबाट उपाध्यक्षमा सीताराम बुढाथोकी, सचिवमा पाण्डे, सहसचिवमा ममता चौधरी र लोकेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
सहसचिवमा विनय शाह र नेपालु चौधरीले पनि उम्मेदवारी दिएका छन्। तर उनीहरु हालसम्म कुनै पनि प्यानलमा खुलेका छैनन्। अध्यक्ष पदका उम्मेदवार थापा पार्टी एकतालाई मजबुत बनाउने भन्दै चुनावी मैदानमा होमिएको बताउँछन् भने अर्का उम्मेदवार चन्द नेतृत्व परिवर्तन र पार्टी एकताको एजेण्डा लिएर चुनावी मैदानमा छन्।