काठमाडौं, २३ पुस । एकै पटक २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले ओमिक्रोन भेरियन्टले अस्पतालमा हुनसक्ने अत्याधिक चापलाई मध्यजनर गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन्।
बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामग्रीहरूको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताइन्। यस्तै सीमानाकामा कोरोना परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केसहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको समेत मन्त्रालयले जनाएको छ।
यसका साथै एस(जीन सिक्वेन्सिङ गर्ने सुविधा देशका वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश–२ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट भइरहेको समेत मन्त्रालयले जनाएको छ।
नेपालमा पनि ओमिक्रोन संक्रमण अत्याधिक मात्रामा बढ्नसक्ने सम्भावना भएकाले सबैले सजगता अपनाउँदै जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने मिश्रले बताइन्। आज पुष्टि भएका २४ जनासहित नेपालमा ओमिक्रोन संक्रमित हुनेको संख्या २७ पुगेको छ।