धनगढी, २३ पुस । भारतमा पछिल्लो २४ घण्टामा १ लाख भन्दा धेरै कोभिड–१९ का नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १ लाख १७ हजार १ सय नयाँ संक्रमित थपिएका हुन्।
यसअघि बिहीबार ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए। भारतको महाराष्ट्रमा ३६ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। पश्चिम बंगाल र दिल्लीमा पनि नयाँ संक्रमितको संख्या १५ हजारभन्दा धेरै छ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ३०२ जनाको मृत्यु भएको छ।कोरोनाको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै भारत तेस्रो लहरको चपेटामा परेको हो। भारतमा एक साताभित्रै कोरोना संक्रमणले भयावह रुप लिएको हो।
विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्ट कम जोखिमपूर्ण रहेको भन्दै बेवास्ता नगर्न चेतावनी दिइसकेको छ।अत्यधिक मात्रामा कोरोनाका संक्रमित फैलिएसँगै त्यसको नकारात्मक असर स्वास्थ्य प्रणालीमा नै देखिन सक्ने डब्ल्यूएचओले बताएको छ।