एजेन्सी – भारतसँग दोस्रो टेस्ट खेलमा मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका बलियो अवस्थामा छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका तेस्रो दिनको समाप्तिमा ४० ओभरमा ११८–२ को बलियो अवास्थामा छ । दक्षिण अफ्रिकालाई जितको लागि १ सय २२ रन आवश्यक हुँदा हातमा ८ विकेट छ ।
दक्षिण अफ्रिका कप्तान डिन एल्गर १ सय २१ बलमा २ चौकासहित ४६ रनमा अविजित छन् । रास्सी भान डर डुसेस ३७ बलमा ११ रनमा अविजित छन् । ओपनर एडेन मारक्रम ३८ बलमा ६ चौकासहित ३१ रन बनाउँदै आउट भए । मारक्रमलाई तीव्र गतिका बलर शार्दुल ठाकुरले एलबीडब्लू आउट गर्दै भारतलाई पहिलो सफलता दिलाएका थिए । तेस्रो नम्बरका किगन पिटरसनलाई रविचन्द्रन आश्विनले २८ रनमा एलबीडब्लू आउट गरे । पिटरसनले ४४ बलमा ४ चौका प्रहार गरे ।
त्यसअघि तेस्रो दिन नै भारत दोस्रो इनिङमा ६०।१ ओभरमा २ सय ६६ रनमा अल आउट भयो । भारतका अनुभवी ब्याटर अजिक्या रहाणेले ७८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । चेतेश्वर पुजाराले ८६ बलमा १० चौकासहित ५३ रन जोडे । तेस्रो विकेटका लागि रहाणे र पुजाराले १ सय ११ रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको सम्भावना देखाएपनि त्यसपछिका ब्याटर चल्न नसक्दा मध्यम योगफलमा समेटिएको थियो ।
हुनमा विहारी ८४ बलमा ६ चौकासहित ४० रनमा अविजित रहे । कप्तान लोकेश राहुल ८, मयंक अग्रवाल २३, रविचन्द्रन आश्विन १६ र शार्दुल ठाकुर २८ रनमा आउट भए । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा र लुन्गी एनगिडी र मार्को ज्यानसनले ३–३ विकेट लिए । दक्षिण अफ्रिका पहिलो इनिङमा ७९।४ ओभरमा २ सय २९ रनमा अल आउट भएको थियो । समग्रमा भारतले २७ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिका किगन पिटरसनले १ सय १८ बलमा ९ चौका सहित सर्वाधिक ६२ रन बनाए । टेम्बा बभुमाले ६० बलमा ६ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।
अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान डिएन एल्गरले १ सय २० बलमा ४ चौका प्रहार गर्दै २८ रनमा आउट भए । मार्को ज्यानसन, केशव महाराज र विकेटकिपर काइल भेरेनेले २१–२१ रन बनाए ।भारतका तीव्र गतिका बलर शार्दुल ठाकुरले १७।५ ओभरमा ३ मेडन राख्दै ६१ रन खर्चेर ७ विकेट लिए । दक्षिण अफ्रिकाविरुद्ध भारतीय बलरले एक इनिङमा गरेको उत्कृष्ट प्रदर्शन हो । मोहम्मद शामीले २ र जस्प्रित बुमराहले १ विकेट लिए ।
त्यसअघि दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन अन्तिम सेसनमा ६३।१ ओभरमा २ सय २ रनमा अल आउट भयो । भारतका कप्तान लोकेश राहुलले १ सय ३३ बलमा ९ चौका सहित सर्वाधिक ५० रन बनाए । भारतलाई राहुल र मयंक अग्रवालले १४।१ ओभरमा ३६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तर बाँकी १३ रन जोड्न प्रमुख तीन विकेट गुमाएपछि भारतले खराब सुरुवात गरेको थियो ।
युवा तीव्र गतिका बलर मार्को ज्यानसनले अग्रवाललाई २६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि अर्का तीव्र गतिका बलर डुआने ओलिवियरले चेतेश्वर पुजारालाई तीन रनमा टेम्बा बभुमाबाट क्याच गराए ।लगत्तै अर्को बलमा अजिंक्या रहाणे गोल्डेन डक आउट भएपछि भारत २३।४ ओभरमा ४९–३ को कमजोर अवस्थामा पुगेको थियो । हनुमा विहारीलाई कागिसो रबाडाले रास्सी भान डर डुसेनबाट २० रनमा उत्कृष्ट क्याच आउट गराएपछि भारत धरासयी बनेको थियो ।
ज्यानसनले ४६ औं ओभरको पाँचौं बलमा राहुललाई रबाडाबाट क्याच गराएपछि भारत संकटमानै परेको थियो । शार्दुल ठाकुर शून्य र मोहम्मद शामी ९ रनमा आउट भए । जस्प्रित बुमराह ११ बलमा २ चौका र १ छक्कासहित १४ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका युवा तीव्र गतिका बलर मार्को ज्यानसनले १७ ओभरमा ५ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडा र डुआने ओलिवियरले ३(३ विकेट लिए । तीन टेस्टको सिरिजमा भारतले १(० को अग्रता लिएको छ । पहिलो टेस्टमा भारत १ सय १३ रनले विजयी भएको थियो ।