काठमाडौं, १८ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (सोमवार) बस्ने भएको छ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय विपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि बस्न लागेको यो दोस्रो बैठक हो। यसअघि नयाँ निर्वाचित कार्यसमितिको पदस्थापन भएकै दिन केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो। सभापति शेरबहादुर देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउनेमा हिजो १० र आज तीन गरी १३ जना मनोनयन गरेका छन्। २० जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ।
