तनहुँ, १७ पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्ध भएर लाग्ने बताएका छन्। तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताए।
‘इमान्दारीता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिँदा सबै उत्साहित भएका छन्‚’ अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ।’ उनले गोरखा, लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गर्दै भने, ‘तीनवटै जिल्लाको एकीकृत विकासका लागि सरकारको ध्यानाकर्षण गराउँछु।’
समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको उनको भनाइ छ। न्याय, समानता, विकास र समृद्धिको बाटोमा अगाडि बढेर सबैले सम्मान गर्ने वातावरण सिर्जना गर्ने वातावरण बनाउने बताए।
‘गरिबी, अभाव, पछौटेपन अन्त्य, बेरोजगारी अन्त्य, कृषिको विकास, किसानको जीवनस्तर सुधारेर देशलाई अगाडि बढाउने सङ्कल्प लिएका छौँ’ अध्यक्ष नेपालको भनाइ छ।