काठमाडौं- कांग्रेसको कार्यकर्ता हो भन्दा जेल जानुपर्ने अवस्था थियो। जेल जान तयार भए र सुरु गरे पञ्चायतको दमन र अत्याचारविरुद्धको विद्यार्थी आन्दोलनको नेतृत्व। त्यस समय कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालयमा उनी कक्षा १० मा पढ्दै थिए। सानै उमेरमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका साउद विद्यार्थीहरुमाझ लोकप्रिय थिए नै प्रहरीको पहिलो निशानामा पनि। कञ्चनपुरमा दैनिकजसो पञ्चायती शासनविरुद्ध आन्दोलनहरु हुने गर्थे, ती आन्दोलनहरुको अग्रमोर्चामा हुन्थे साउद। त्यही दौरान उनी घर र विद्यालयमा कम अनि प्रहरी हिरासत र सडक आन्दोलनमा बढी भेटिन्थे। यो २०३५-२०३६ को विद्यार्थी आन्दोलनको समय थियो। पञ्चायतले २०३० सालमा नै क्याम्पस र विद्यालयमा स्ववियुमाथि प्रतिबन्ध लगाइएको थियो भने विद्यार्थीहरुलाई कुनै राजनीतिक गतिविधिमा संलग्न नहुन आदेश जारी गरिएको थियो।
पञ्चायतको आदेनको बेवास्ता गर्दै कञ्चनपुरको विद्यार्थी आन्दोलनक अग्रमोर्चामा भेटिने साउद २०३६ सालमै महेन्द्रनगर माध्यामिक विद्यालयको नेपाल विद्यार्थी संघको इकाइ सचिव भएका थिए।
विद्यार्थीले आफ्नो अस्तित्वको लागि आन्दोलन गरे र विद्यार्थी संगठनहरूमाथि लगाइको प्रतिबन्ध २०३६ सालमा हटाउन बाध्य भएको थियो। त्यसपछि भएको स्ववियूको निर्वाचनमा सिद्धानाथ बहुमुखी क्याम्पसमा आईएस्सी पढ्दै गर्दा साउद सचिवमा चुनिए। उनको राजनीतिक यात्राको ग्राफ उकालो लाग्दै गयो। उनी उच्च शिक्षाका लागि काठमाडौं आए। निडर, प्रष्ट विचार र स्पष्ट अडान भएका साउद कृष्णप्रसाद भट्टराईको नजरमा परेका थिए। त्यस समय देउवा राष्ट्रिय राजनीतिमा शक्तिको रुपमा देखिएका थिएनन्।
आड र भरोसा बिनाको धरातलमा एक्लै उभिएर राजनीतिक गोरेटो बनाउँदै अघि बढिरहेका थिए। यही समयमा २०४१ सालको नेपाल विद्यार्थी संघको निर्वाचनमा केन्द्रीय सदस्यमा चुनिए। यसबीच पनि प्रजातन्त्र पुनर्स्थपनाका लागि भइरहेका विभिन्न आन्दोलनहरुको अग्रभागमा थिए। देशभरका विद्यार्थीहरुको जक्सनको रुपमा रहेको काठमाडौंमा सुदूरको एक युवकले आन्दोलनको नेतृत्व गर्नु सामान्य विषय भने पक्कै थिएन। कयौं रातहरु प्रहरी हिरासतमा गुजारे अनि आन्दोलन रोक्नभन्दै प्रहरीले दिएको यातनाहरुलाई शक्तिमा रुपान्तरण गर्दै आन्दोलनहरु जारी राखे। अन्तत: पञ्चायत अलबिदा भयो र प्रजातन्त्र पुनर्स्थनापको बिहानी सुरु भयो।
२०४८ सालमा नेविसंघको निर्वाचन भयो, उनी प्रजातन्त्र पुनर्स्थापछिको पहिलो निर्वाचित अध्यक्ष बने साउद। ओठको जुँगाको रेखी भर्खरै बस्दै गरेको २६ वर्ष युवकको हातमा कांग्रेसको नेता उत्पादन गर्ने नर्सरीको जिम्मेवारी थमाइको थियो। २०४८ असोज १६ देखि १९ सम्म भएको छैटौं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए। यो पहिलो अधिवेशनपछि निर्वाचनमार्फत चुनिएको दोस्रो कमिटी थियो। त्यसअघि पार्टी नेतृत्वले आफ्नो विश्वासपात्रलाई नेविसंघको अध्यक्ष बनाउने परम्परा थियो। तर, साउद देशभरका प्रजातन्त्रप्रति आस्था भएका विद्यार्थीहरुबाट चुनिएका थिए।
नेविसंघको अध्यक्षबाट अवकाश लिएपछि साउद पार्टी राजनीतिमा लागे। ०५९ वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य भए। कांग्रेस प्रजातन्त्रिकको ११ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका साउद ०६४ मा कांग्रेस र काँग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा पनि केन्द्रीय सदस्यकै रुपमा रहे।
एकीकरणपछिको १२ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य विजयी भए। १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य भएका उनले १४ औं महाधिवेशनमा महामन्त्रीमा दाबी गरेका थिए। उनी २०५१ देखि नै संसदीय निर्वाचनमा प्रतिस्पर्धा सुरु गरेका साउद २०५६, ०६४, ०७० र २०७४ मा कञ्चनपुरबाट चुनाव लडे। २०५६ र २०५७ मा गरी दुई पटक मन्त्री बने। २०५६ मा शिक्षा राज्यमन्त्री बन्दा उनले देशभरका सामुदायिक विद्यालयहरुमा सिटीईभिटीअन्तर्गत एनेक्स कार्यक्रम लागु गरे र २०७० मा सिचाईंमन्त्री हुँदा देशभरका किसानहरुलाई सहज सिचाईंको प्रबन्ध मिलाउन अनिवार्य जग्गा प्रमाणपत्र पेश गर्नुपर्ने प्रावधान हटाएका थिए।
कांग्रेसभित्रैका विभिन्न राजनीतिक विवाद समाधानका लागि मध्यस्थताको भूमिका खेल्ने साउदलाई कांग्रेसकै नेताहरुले कुशल संगठक र सहजकर्ताको रुपमा चित्रण गर्छन्।
कांग्रेसको १४ औं महाधिवेशनको बहस सुरु भएदेखि नै सभापति शेरबहादुर देउवा समूहबाट एकजना महामन्त्रीमा एनपी साउद पर्ने चर्चा सुरु भएको थियो। स्वयं साउदले आफू कुन पदमा लड्ने भनेर मुख नखोलेका भए पनि कांग्रेस वृत, आमसञ्चारमाध्यम र कांग्रेस कार्यकर्ताहरुको नजरमा भने उनी महामन्त्रीका प्रबल दाबेदार थिए। देउवाले आफ्नो टिमभित्रका महामन्त्रीका दाबेदारहरु बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्र बहादुरलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएकाले साउद महामन्त्रीको अब्बल दाबेदारको रुपमा हेरिएका थिए। साउदले पनि आफू सभापतिबाहेकको प्रमुख पदाधिकारीको उम्मेदवारी दिने बताएका थिए।
देउवाले प्रदेशहरुबाट उम्मेदवार टुंगो लगाउने जिम्मा दिँदा पनि सुदूरपश्चिमको जिम्मा नेता साउदलाई नै दिएका थिए। साउदलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्छ भन्दै देशभरका विभिन्न जिल्लाका ३०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले बालुवाटारमा धर्नासमेत दिएका थिए। तर, सभापति देउवाले भने साउदलाई महामन्त्रीको उम्मेदवारको रुपमा पत्याएनन्। देउवा समूहबाट महामन्त्रीका प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बने।
देउवा समूहले एनपी साउदलाई महामन्त्री नबनाएकोप्रति सभापतिका अन्य उम्मेदवारहरु प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि चकित परे। उनीहरुले साउदलाई आफ्नो समूहबाट महामन्त्री बन्न आग्रहसमेत गरे। संगठनप्रति प्रतिबद्ध साउदले भने पदका लागि आफूले विद्रोह नगर्ने प्रतिक्रिया दिँदै सिंह र निधिलाई शुभकामना व्यक्त गरे। उनले देउवा समूहबाट नै केन्द्रीय सदस्यमा उम्मेदवारी दिए।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा भने साउदले शशांकपछि सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भए। साउद केन्द्रीय सदस्यमा … मत ल्याएर निर्वाचित भएका हुन्।
विरासत र परिवारवादको राजनीतिविरुद्ध संघर्ष गरेका देउवाले त्यही मान्यता राख्ने र आफ्नो बलबुतामा संगठन बनाएका साउद पाखा लगाएर अन्याय गरेको कांग्रेसका नेता-कार्यकर्ताहरुले नै टिप्पणी गर्न थालेका छन्। देउवाले अन्याय गरेको भए पनि सालिन र पार्टीको राजनीतिलाई विवादरहित बनाउनुपर्ने अडान राख्ने साउदलाई कांग्रेसका मतदाताले अत्यधिक मत दिएर देउवालाई गतिलो जवाफ फर्काएका छन्।