धनगढी, ३ पुस । कैलालीको धनगढीमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट टी–२० प्रतियोगितामा कर्णाली प्रदेशको लज्जास्पद् हार भएको छ ।
निकै खराब सुरुवात गरेको कर्णालीलेमात्र ६ रनमै सबै विकेट गुमाएर लज्जास्पद् हारसंगै प्रतियोगिताको सुरुवात गरेको हो । कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसले प्रदेश नम्बर १ संग १६१ रनको हार व्यहोरेको छ ।
कर्णालीलाई सहज रुपमा हराउने क्रममा अलिसा खादियाले मात्र एक रन खर्चेर पाँच विकेट लिइन् । फाप्ला क्रिकेट मैदानमा भइरहेको खेलमा यस अघि टस जितेर प्रदेश नम्बर १ ले मात्र दुई विकेटको क्षतिमा उत्कृष्ट पालि खेल्दै १६६ रन बनाएको थियो ।
प्रदेश नम्बर १ को लागि कप्तान रविना क्षेत्री र अप्सरा बेगमले अर्धशतक पूरा गरे । क्षेत्रीले १० चौकाको मदतले ६४ बलमा ७६ रन बनाइन् । त्यस्तै, बेगमले ६२ बलमा ६१ रनको योगदान दिइन् । कर्णालीका लागि दिव्य धामीले दुई विकेटको सफलता दिलाएकी थिइन् ।