धनगढी, २९ मंसिर । ‘माओवादी जनयुद्ध’ मा थारु समुदायको निकै ठूलो योगदान छ । पार्टी खुल्ला राजनीतिमा आएपछि भने अवसर नपाएको उनीहरुको गुनासो थियो । तर, यसपटक थारु समुदायलाई समेत प्रतिनिधित्व गर्ने गरी नेता हरि चौधरी (उत्सव) सुदूरपश्चिम प्रदेशको अध्यक्ष बन्ने सम्भावना बढेर गएको छ ।
कैलालीका माओवादी नेता चौधरी प्रदेश अध्यक्ष बन्ने सम्भावना बढेपनि धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले तत्कालका लागि २ सय २३ जना प्रदेश सदस्यहरुको नाम मात्र घोषणा गरेको छ । पहिलो बैठकले अध्यक्षलगायत ९ जना पदाधिकारी चयन गर्ने जनाइएको छ ।
शनिवार र आइतबारका लागि आयोजना गरिएको सम्मेलनले नेतृत्वमा सहमति जुटाउन भने सकेन । थप दुई दिन लम्बिएपनि सहमति नजुटेको हो । मंगलवार पनि सम्मेलनस्थलको माहोल निकै तनावपूर्ण बनेको थियो ।
युवा, विद्यार्थीका बीचमा हात हालाहालको अवस्था सृजना भएपछि नेतृत्वले हस्तक्षेप गरेको थियो । ‘हाम्रो बिधान फेरिएको छ । पहिला जनबर्गीय संगठनहरुबाट प्रतिनिधि चुनिने व्यवस्था थियो । अहिले हरेक कलष्टरबाट प्रतिनिधि चुनिएर आउनुपर्छ,’ एक प्रदेश सदस्यले सीमारेखाडटकमसँग भने, ‘त्यसैले विद्यार्थी र वाइसिएलका साथीहरुका बीचमा सामान्य झगडा भएको हो ।’
सबै जिल्लाका तर्फबाट प्रदेश सदस्यहरुमा सहमति जुटाएर सदस्यहरुको नाम घोषणा गरिएपनि कञ्चनपुरको बेदकोटलगायत केही स्थानीय तहमा भने तलैबाट कलष्टर नमिलाएकाले समेटिएको छैन । सहमति हुन नसकेको ठाउँमा खाली राखिएको माओवादीका एक नेताले बताए । ती ठाउँबाट पछि सदस्य थपिने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सम्मेलनमार्फत एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारीसहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने तयारी थियो । प्रदेश सदस्यको कोटामै विवाद बढेपछि पदाधिकारीको टुंगो नलगाई सम्मेलन सम्पन्न गरिएको हो ।
प्रदेश सदस्यको विषयमा प्रतिनिधीहरुले विरोध जनाएका छन् । मापदण्ड विना निकटलाई सदस्य बनाइएको र समेटिनु पर्ने व्यक्तिहरु छुटेको भन्दै असन्तुष्टिसमेत बढेको छ ।
पदाधिकारीहरू प्रदेश कमिटिको पहिलो बैठकबाटै टुंगो लगाइने बताइएको छ । माओवादी स्रोतका अनुसार यसपटक नेतृत्व थारु समुदायमा जाने सम्भावना छ । एक नेताका अनुसार अछामका शरद भण्डारी, बैतडीका नरेन्द्र कुवर (बिजय सुन्दर), कैलालीकी रुपा चौधरी, नेपबहादुर चौधरी र बिरभान चौधरी अध्यक्षका आकांक्षी थिए ।
तर, माओवादी केन्द्रले प्रदेश अध्यक्ष हुनेहरुले केन्द्रीय सदस्य पद छाड्नु पर्ने व्यवस्था गरेपछि उनीहरु पछाडी हटेका छन् ।
‘सुदूरपश्चिममा १३ जना केन्द्रीय सदस्य छन्, ती मध्ये केहीले अध्यक्ष हुनका लागि लबिइङ गरिरहेका थिए,’ स्रोतले भन्यो, ‘तर, केन्द्रीय सदस्य छाड्नु पर्ने भएकाले अहिले पछाडी हटेपछि हरि चौधरीका लागि ढोका खुलेको छ ।’
सचिवमा पनि धेरैको दाबी छ । अध्यक्ष तराई र थारु समुदायबाट ल्याएपछि सचिव पहाडी जिल्लाबाट ल्याउने गरेर तयारी थालिएको स्रोतले जनायो । ‘जनक बुढा, शिव ओलीलगायत धेरैको सचिवमा दाबी भएपनि दार्चुलाका मानबहादुर धामी (सन्तोष)को सम्भावना बलियो छ,’ स्रोतले भन्यो ।
माओवादी सुदूरपश्चिममा अहिलेसम्म थारु समुदायको नेतृत्व आएको थिएन । ‘जनयुद्धकाल’ मा सेती–महाकाली र थारुवान घोषणा गरिएको थियो । त्यसपछि भने नेता लेखराज भट्टलगायतले नेतृत्व सम्हाल्दै आएका थिए ।
जनयुद्धमा माओवादीले उपयोग मात्रै गरेको र खुल्ला राजनीतिमा आएपछि नेतृत्वमा लैजान आनाकानी गर्दै आएको गुनासो थारु समुदायको थियो ।
कैलालीमा मात्र २७ हजार बढी पार्टी सदस्य रहेको माओवादीमा तिनैबाट छानिएका प्रदेश प्रतिनिधि धेरै छन् । त्यसैले पनि यसपटक हरि चौधरी अध्यक्षमा चुनिने सम्भावना प्रबल रहेको कार्यकर्ता बताउछन ।