धनगढी, २५ मंसिर । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन आजदेखि धनगढीमा सुरु हुँदैछ। सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गर्ने कार्यक्रम छ।
सम्मेलनबाट ९ पदाधिकारी सहित २ सय २३ जनाको प्रदेश कमिटी चयन हुनेछ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौँ जना पदाधिकारीसहित २ सय २३ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ। २ सय २३ जनामध्ये १० प्रतिशत भने मनोनित हुनेछन्।
माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने बताए। ‘सहमति जुट्न नसके लोकतान्त्रिक विधिमा पनि जाने तयारी छ,’ भट्टले भने। सहमतिका लागि छलफल भइरहे पनि माओवादी केन्द्रको प्रदेश अध्यक्षमा आधा दर्जन नेताले दाबी गरेका छन्।
अछामका शरदसिंह भण्डारी, बैतडीका नरेन्द्र कुँवर, प्रदेशसभा सदस्यसमेत रहेका कैलालीका वीरमान चौधरी, प्रदेश समिति सचिव रहेका नेपबहादुर चौधरी, हालका प्रदेश समिति सदस्य तथा राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ (कैलाली) र हरि ज्ञवाली ‘अखण्ड’ (कैलाली) अध्यक्षको दौडमा छन्। पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश सम्मेलदन भइरहेको हो।