महेन्द्रनगर, ७ मंसिर । नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न मत गणना अनुसार उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
केन्द्रीय सदस्य रमेश लेखकनिकटको प्यानल बनाउन महत्वपूर्ण भूमिकामा रहेका जोशी जिल्ला सचिवमा मनोनित हुनुअघि उनका स्वकीय सचिव थिए । जोशीले १ सय ५० मत ल्याउँदा १० नम्बरमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित वीरबहादुर सुनारले १ सय ७८ मत ल्याएका छन् ।
कञ्चनपुर–३ बाट बेलबहादुर राना, यज्ञराज जोशी, प्रकाश थापा, दिपक सिंह, जंगबहादुर चन्द, खगेश्वर बोहरा, पदम बोगटी, आसिफ कुँवर, तारणीदत्त चटौत र वीरबहादुर सुनार खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
महाधिवेशनमा निर्वाचितमध्ये बोगटीमात्र केन्द्रीय सदस्य एनपी साउदनिकट मानिन्छन् । उनलाई नेता रमेश लेखकले पनि आफ्नो प्यानलमा पारेको चर्चा छ । क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिमा साउदको प्यानल ‘क्लिन स्वीप’ भएको थियो ।